यूकेमा रहेका सचित गुरुङको १९ औँ जन्मदिनको अवसरमा उनका बुबा चन्द्रबहादुर गुरुङ र आमा शान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीलाई आर्थिक सहयोग गरेका छन् ।
छोराको जन्मदिनको अवसरमा गुरुङ दम्पतीले एनपिजेए कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा सचितका बुबा चन्द्रबहादुर गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार तथा सहारा क्लब, पोखराका सदस्यसमेत रहेका गुरुङ आहा रारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् ।
सहयोग ग्रहणपछि एनपिजेए कास्कीका सचिव गुरुङले अक्षयकोषका दातालाई धन्यवाद दिँदै यस्ता सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरूको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो ।
छोरा सचितको जन्मदिनको अवसरमा गुरुङ दम्पतीले पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद तथा बेलुकाको खानासहित खाद्यान्न सहयोग गरिसकेका छन् । साथै, सहारा क्लब, पोखराले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालबालिकालाई पनि बेलुकाको खाना तथा खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।
चन्द्रबहादुर र शान्ता गुरुङ दम्पतीले यूकेमा गोर्खा हिल क्यास एण्ड क्यारी सञ्चालन गरिरहेका छन् । सचित हाल यूकेमै सिभिल इन्जिनियरिङ अध्ययनरत छन् ।






