नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइरहको बताउनुभएको छ ।
मंगलवार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपालले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरु लगानी गर्न नआउने बताउनु भयो । सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उहाँको तर्क थियो । रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उहाँले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने बताउनु भयो । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिनसक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैले हाम्रा छोराछोरी यही नेपालमै बसुन् भनेर चाहिरहेका छौं । तर त्यसका लागि हामीले के गरेका छौं ? यसका लागि के गर्ने त अब ? हामीले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिनुपर्छ । सिर्जना गर्नुपर्छ । हामी रोजगारीलाई वर्षमा नाप्दैनौं । राजश्व र विकास निर्माणमा जोड्छौं । यसरी हुदैन । रोजगारी सिर्जना सरकारले गर्न सक्दैन । रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो । तर सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ । रोजगारी सिर्जनाका गर्नको निजी क्षेत्रमा लगानी चाहिन्छ । कसैले दया गरेर त लगानी आउँदैन । नीजि क्षेत्रले मुनाफा गर्नुलाई समाजले जहिलेसम्म स्वीकार्दैन तबसम्म रोजगारी सिर्जना हुन सक्दैन । नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरुलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरु र अन्य कम्पनीहरुपनि नेपलामा लगानी गर्न डराईरहेका छन् । ती कम्पनीहरुको नाम लिन म पनि डराइरहेका छु । हामीलाई फाइदा चाहिएको छ । तर हामीले वातावरण बनाउन सकिरहेका छैनौं ।’
उहाँले नेपालमा दुई दलीय संयन्त्रमा बनेको सरकारले रोजगारीको मुद्दालाई प्रतिष्पर्धाको विषय बनाउनुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बाँकी रहेको तीन वर्षमा आफूले पाएको जिम्मेवारी सबै राजनीतिक दलहरुले पूरा गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उहाँले अहिलेको सरकार दुई दलीय संयन्त्रमा बसेकको छ । अहिले म यही विषयमा कुरा काम गरिरहेको छु । अहिले जसले पनि २०८४ को कुरा गर्छ । अनि ०८१ को जिम्मा सकले लिने हो ? ०८१, ०८२, ०८३ मा काम गारैं न ०८४ मा पाए गरौंला नपाए नगरौंला । कसै न कसैले त पाउला नि । सरकारमा गएकोले पनि ०८४ भनेको छ नगएकोले पनि ०८४ भनेको छ । अहिले म नेताहरुसँग छलफलमा बस्दाखेरि यिनै विषयहरुमा छलफल गरिरहेको हुन्छु ।’
सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली कम्पनीहरुलाई विदेशी मुद्रा सटही गरेर नेपाल बाहिर पनि लगानी गर्न दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको लागि बाहिर लगानी गर्न राष्ट्र बैंकले बाटो खोलिदिनुपर्ने बताउनु भयो । विश्वभर आर्थिक आय बढ्दापनि जनसंख्या घट्दै गएको उल्लेख गर्दै महामन्त्री थापाले अबको २० वर्षपछि नेपाल पनि जापान र कोरियाजस्तै राष्ट्र बन्ने बताउनु भयो ।