टर्किएको दक्षिणी रिसोर्ट प्रान्त अन्टाल्यामा एउटा केबल कार एक पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । देशका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले एक जनाको मृत्यु भएको बताउनु भयो । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । कुल १३७ जनालाई उद्धार गरिएको छ । मृतक ५४ वर्षीय टर्कीका व्यक्ति थिए । घाइतेमध्ये दुई बालबालिका छन् । मुस्लिमहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने ईद अल–फित्रको बिदामा भूमध्यसागरीय शहर अन्टाल्याबाहिर रहेको लोकप्रिय टुनेकटेप केबल कारमा दुर्घटना भएको हो । अन्टाल्या टर्कीको सबैभन्दा ठूलो पर्यटन केन्द्र हो । जुन प्रत्येक वर्ष लाखौं स्वदेशी र विदेशी पर्यटकहरूले भ्रमण गर्दछन् ।