प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताउनुभएको छ ।
बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको स्पष्ट पार्नुभयो । उहाँले विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको बताउनु भयो । उहाँले विकासको लागि स्थायित्व अनिवार्य रहेको बताउनु भयो । उहाँले संविधानलाई समयानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट गर्न सकिने बतउनु भयो । संशोधन प्रक्रियामा संसदको गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विकासका लागि स्थायित्व चाहिन्छ । अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ । राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासको लागि स्थायित्व अर्थात निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन । संविधानलाई समयानुकुल बनाउनु पर्छ । समयानुकुल बनाउने भनेको अनुकुल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एण्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाँउमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो । राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्नसक्छौं । यसप्रति निश्चय नै राष्ट्रिय चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय सङ्ख्या मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ । मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ । संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने चाहन्छ । नहुँदा आम नागरिक कहिले काहीँ निराश पनि हुन्छ । मैले संसद्मा विश्वासको मत लिँदै गर्दा भनेको थिएँ– २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको छ । म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौं भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ । म युवा लगायत सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई विश्वास दिलाउन चाहन्छु, काम गरेर देखाउने, गरेकै कामले आशा भर्ने बाहेक यो सरकारको अर्को एजेण्डा छैन । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारको अरू कुनै मुद्दा छैन । युवाहरुको सन्दर्भमा एक जना नेताको भनाइ मलाई याद आइरहन्छ– गिभ मि जस्ट वान जेनेरशन अफ युथ, एण्ड आइ विल ट्रान्सफर्म द होल वल्र्ड (मलाई युवाहरुको एउटा पुस्ता दिनुस्, र, म सिङ्गो दुनियाँ बदल्ने छु) । म पनि ठान्छु, हाम्रो युवा–पुस्ताकै बलमा यो मुलुक रुपान्तरण गर्न सकिन्छ । आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूवाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं, गछौँ । सुशासन कायम त हामी गर्छौं, गर्छौं । तर याद गरौं, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ ।’
प्रधानमन्त्री ओलीले युवा–पुस्ताकै बलमा मुलुक रुपान्तरण गर्न सकिने बताउनु भयो । उहाँले समाजमा आगो लगाउँछु भन्नेहरुबाट युवा पस्ताले आफूभित्रको केही गरौँ भन्ने आगोलाई बचाउन आग्रह गर्नुभयो ।