प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गर्नुभएको छ ।
केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उहाँले बताउनुभएको हो । सातौ साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरुलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले वैदेशिक रोजगारीमा गएका सबै युवाहरुलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागु गर्नु पर्दछ । र यस अनुसार थोरै भएपनि सामाजिक सुरक्षा हुनुपर्दछ । यसमा विभिन्न मात्रामा, विभिन्न ढंगले, विभिन्न तरिकाबाट आमन्त्रण गर्नुपर्दछ । देशबाहिर रोजगारीमा रहेका युवाहरु २५÷२६ लाख युवाहरु बाहिर गएका हुन सक्दछन् अहिलेसम्मको स्थितिलाई हेर्दा । एउटा के छ भने एयरपोर्टमा भिड देखाउँछ । तर जानेको हो कि आउनेको हो ? त्यो छुट्टिदैँन । मान्छे गएका मात्रै होइनन, फर्केका पनि छन् नि । रोजगारीका लागि केही समयका लागि सम्झौता अन्तगत उनीहरु बाहिर गएका हुन फर्किन्छन् । ’
प्रधानमन्त्री ओलीले सरकारले जनताको सुख र समृद्धि बाहेक अरु कुनै अभिष्ट नराखेको पनि बताउनु भयो ।