व्यवस्था मात्र होइन देश र जनताको अवस्था पनि परिवर्तन भएको छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गर्नुभएको छ ।
मंगलवार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बाधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो । उहाँले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकको व्यवस्थापन गर्दै सरकारले अभिभाकत्व दिने बताउनु भयो । उहाँले सडक बालबालिकाहरुको व्यवस्थापन गर्दै उनीहरुलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उहाँको दाबी छ । उहाँले मानवीय वृत्तमा केही समस्याहरु रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरुलाई शिक्षा र नविनतम प्रविधिहरुको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पहिले पहिले बाढीले बगाएको खण्डमा हेर्ने कुनै सरकार हुन्थ्यो ? कसैले हेर्दैन थियो । बगायो त बगायो । अहिलेको सरकार त अभिभावक जस्तो भएर प्रश्तुत भएको छ । अहिलेको सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार भएको छ । सक्नेले खाउ नसक्ने मर भन्ने होइन । नसक्नेका लागि सरकार छ भन्ने खालको सरकार बनेको छ अहिले । पहिलेको लागि कर उठाउनका लागि मात्र होइन नगरपालिका र महानगरपालिकाहरु सेवा गर्नको लागि बनेका छन् । मानवीय वृतमा समस्याहरु होलान् । त्यसलाई हामी शिक्षा दिक्षाको माध्यमबाट आधुनिकिकरण र उन्नत प्रविधिको माध्यमबाट विकृतिहरुलाई हटाउने र राम्रो कल्चर स्थापना गर्दैछौं । सरकारको काम मुख्य रुपमा साशन होइन सेवा दिने हो । अभिभावकबिहिन बालबालिकाहरु खाते भएर सडकमा हिँड्न सक्दैनन् भनेर हामीले बालिकाबालिकाहरुलाई सडकमा कुकुरसँग सुत्ने र कुकुरको खोसेर खाने हुन दिँदैनौं भनेर हामीले व्यवस्था गर्न थालेका हौं । सडकमा मानव अलपत्र पर्न दिँदैन भनेर हामी जिम्मेवार भएर लाग्यौं । अब हामी २०८२ सालभित्र सडकमा बालबालिकाहरुको उद्धार गरेर व्यवस्थापन गरिसक्छौं । २०८२ सालसम्म हामी सडक मानव रहन दिँदैनौं । त्यस अवस्थालाई अन्त्य गर्छौं । बालबालिकाहरुलाई राख्ने र बचाउने मात्र होइन । तिनीहरुलाई यथोचित आहार दिएर उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बन्ने गरेर सरकारले व्यवस्था गर्छ । सबैसँग प्रतिष्पर्धा गर्ने नागरिककै रुपमा अभिभावक बिहिनलाई सरकारले अभिभाकत्व दिएर अगाडि बढाउँछ ।’
व्यवस्था बद्लिएपनि नागरिकको अवस्था बद्लिएन भन्ने गरेको भन्दै नागरिकको अवस्थामा समेत बिस्तारै सुधार भइरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधीमा नौ लाख नागरिकलाई गरिबीको रेखामुनिबाट मथि उठाएको दाबी गर्नुभयो । विकासको क्रमसँगै केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था पहिलाको जस्तो नभएको समेत उहाँले बताउनु भयो । उहाँले पूर्वपश्चिम राजमार्गहरु निर्माण, उद्योगहरुको स्थापना र स्थास्थ्यको क्षेत्रमा समेत उल्लेखनीय कामहरु भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कतिपय मान्छेहरुले भन्ने गरेका छन् व्यवस्था बद्लियो अवस्था बद्लिएन भने । तर व्यवस्था पनि बद्लियो अवस्थामा पनि बद्लियो । हिजो ४० प्रतिशत जनता निरपेक्ष गरिबिको रेखामुनी जनता थिए । मैले प्रधानमन्त्रीबाट छोड्दा १७ प्रतिशतमा झारिएको थियो । नौ लाख मानिसलाई निरपेक्ष गरिबिको मुनिबाट माथि उठाइएको थियो । तीन वर्षमा यो संख्या बढेर अहिले २० प्रतिशतमा पुगेको छ । त्यस्ता केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था हिजोको जस्तो छैन । यसैगरी सवारी थिए हिजो ? थिएन नि त । झापामा म जाँदा एक जनासँग मात्र जिप थियो । अहिले कति मोटरगाडी छन् भनि साध्य छैनन् । नयाँ मध्यपहाडी राजमार्गगरि तीन वटा राजमार्ग बनाएका छौं । २० दिनमा मध्पहाडी राजमार्ग कटाउन सम्भव थियो । आज चाँही भएको छ । हजारौ पुलहरु बनेका छन् । केही उद्योगहरु मासिए पनि धेरै उद्योगहरु स्थापना भएका छन् । व्यवस्था परिवर्तन भएको बेला भन्दा आज निर्यात पनि बढेको छ । अर्थतन्त्रको आकार बढेको छ । मानिसहरुको सरदर आयु ४२ वर्ष थियो । पछि ४९ वर्ष पुगेको थियो । आज सरदर आयु ७२ वर्ष पुगेको दुई वटा कुराले । एउटा मानिसमा सम्पन्नता आएको छ । खान लाउन पाएको छ । अर्को, जिविकाको लागि भारी नै बोक्नुपर्ने अवस्था एकदमै न्युन भएको छ । अर्को स्वास्थ्यपचारको राम्रो व्यवस्था भएको छ । किड्नि ट्रान्सपलान्ट गर्ने सुविधा नभएको भए मेरो अस्ति साउनमा १८ औं पुन्यतिथि भइसक्थ्यो ।’
उहाँले मुलुकमा सुशासन कायम गर्ने सवालमा सरकारले भ्रष्टचरीहरुको मुख नहेरी अपराधका आधारमा कारबाही गर्ने बताउनु भयो ।