नेपालका सञ्चारमाध्यमका समाचार सामग्रीको गुणस्तर खस्किँदै गएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
बुधवार काठमाडौंमा सार्वजनिक ‘भाइब्रेन्ट इन्फरमेसन ब्यारोमीटर (भाइब)’ अध्ययन प्रतिवेदनले नेपालमा सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित समाचार सामग्रीको स्तरीयता कमजोर बनेको देखाएको हो । आईरेक्सको सहयोगमा द एशिया फाउण्डेशनले सूचनाको महत्व,उत्पादन, प्रयोग,नागरिकको पहुँच तथा समाचार उत्पादकहरुको समावेशी चरित्र लगायत बारेमा गरेको अध्ययन प्रतिवेदनले विभिन्न परिस्थितिका कारण सञ्चारमाध्यमहरु कमजोर बन्दै गएको र त्यसको प्रभाव सूचनाको गुणस्तरमा परेको निस्कर्ष निकालेको हो । सञ्चारमाध्यमको रिपोर्टिङ गर्ने क्षमता नै कमजोर हुँदै गएको अध्ययनले देखाएको छ । सञ्चार क्षेत्रले आर्थिक सीमितताको सामना गरिरहँदा त्यसको असर छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यमहरूमा समेत परेको र सञ्चारमाध्यम नै बन्द हुने अबस्थामा पुगेको अध्ययनले देखाएको छ । सामाजिक सञ्जालहरु मिथ्या सूचनाको हब बन्दै गएको र यसको प्रभाव मुलधारका मिडियामा पर्ने गरेको पनि अध्ययनले देखाएको छ ।
प्रतिवेदनलाई राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र फाउण्डेशनकी नेपाल प्रमुख मेगन नाल्बोले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
अध्ययनअनुसार नेपालले ४० पूर्णाङ्कमा २३ अङ्क प्राप्त गरेको छ । यो अंक सूचनाको गुणस्तर, सूचनाको प्रवाह, सूचनाको प्रयोग र सूचनाले ल्याउने रुपान्तरणकारी कार्य गरी चार सिद्धान्तमा आधारित औसत अंक हो । अध्ययनले समग्र मिडियाको सञ्चालन, व्यवस्थापन चक्र नै भत्किँदै गएको देखाएको छ । द एशियन फाउण्डेशनका कार्यक्रम निर्देशक अजय दासले अध्ययनले नेपाली सञ्चार माध्यममा विभिन्नि किसिमका चुनौतिहरु क्रमश थपिँदै गएको देखाएको बताउनुभयो । उहाँले सञ्चार गृह र विषयवस्तुमा विविधिकरणसँगै समावेशिता हुन नसकेको पनि अध्ययन प्रतिवेदनमा देखिएको बताउनु भयो । त्यसैगरी सामाजिक सञ्जालको प्रभाव तथा त्यसमा आउने सूचनाले गलत सन्देश प्रवाह गर्ने गरेको पनि अध्ययन प्रतिवेदनले देखाएको उहाँले उल्लेख गर्नुभयो ।
४ वटा प्रमुख सिद्धान्तका आधारमा लुम्बिनी प्रदेश र मधेस प्रदेशलाई आधार बनाएर २० मुख्य सूचक, १६७ वटा उपसूचक बनाएर अध्ययन गरिएको थियो । अध्ययनका लागि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरु, सञ्चार व्यवस्थापक, नागरिक समाज, संवाददाता, शिक्षक र अभियानकर्मीहरू समेटिएका ३० जनाभन्दा धेरै विज्ञहरूलाई संलग्न गराइएको थियो । अध्ययन टोलीका मुख्य अनुसन्धानकर्ता उमेश पोखरेलले शहर र ग्रामिण क्षेत्रका मिडिया र उपभोक्तामा असमानता रहेको र सञ्चारमाध्यमले समेट्ने क्षेत्र एवं विषयमा समेत असमानता रहेको बताउनु भयो । उहाँका अनुसार अध्ययनले मिडियाको संरचना र उत्पादन हुने विषयवस्तु समावेशी नभएको, पत्रकार महिलामाथि सेवा सुविधामा नै भेदभाव रहेको, कोभिड १९ पछि पत्रकारहरुको श्रम अधिकारमा कटौति हुँदै गएको देखाएको छ । कमजोर आर्थिक अवस्थाका कारण सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको र त्यसबाट कयौ पत्रकारको रोजगारी समेत गुमाएको अनुसन्धान कर्ता पोखरेलले बताउनु भयो ।
अध्ययनमा संलग्न विज्ञ सदस्यहरूलाई तोकिएका सूचकमा मूल्याङ्कन स्वरूप अङ्क दिन भनिएको थियो । जसमा शुन्यदेखि १० अङ्कलाई ‘नन भाइब्रेन्ट’, ११ देखि २० को अङ्कलाई ‘स्लाइटली भाइब्रेन्ट’, २१ देखि ३० बीचको अङ्कलाई ‘समह्वाट भाइब्रेन्ट र ३१ देखि ४० बीचको अङ्कलाई ‘हाइली भाइब्रेन्ट’ का रूपमा वर्गिकृत गरिएको थियो । द एशिया फाउण्डेशनले युएसएआईडीको आर्थिक, प्राविधिक सहयोगमा नागरिक समाज र मिडियामा काम गरिहरेको छ । सूचनाको गुणस्तर, सूचनाको प्रवाह, प्रयोग र सूचना ल्याउने रुपान्तरणकारी कार्यको अधारमा अध्ययन गरिएको थियो । यो अध्ययनले मिडियाको वर्गीकरण, सामाजिक सञ्जालको प्रयोग र मिडिया तथा समाजिक सञ्जालबारे रहेको भ्रम निवारण गर्न सबै क्षेत्र मिलेर कम गर्न ढिलो गर्न नहुने सुझाव दिएको छ । यस्तो अध्ययन नेपालसहित १९ देशमा भएको छ । यसअघि विभिन्न १८ मुलुकमा भएको अध्यय संग तुलना गर्दा नेपालको अवस्था सामान्य नै रहेको देखिएको छ ।