Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

प्रतिनिधि सभाले किन धेरै विधेयक पारित गर्न सकेन, सांसदहरुको आ–आफ्नो तर्क

सांसदहरुले सरकारको स्थायित्व नभएका कारण प्रतिनिधि सभाबाट जनअपेक्षा अनुरुपको संख्यामा विधेयक पारित गर्न नसकिएको बताएका छन् ।


सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसदहरुले सरकार अस्थिर भएका कारण विधेयक निर्माणमा समस्या भएको बताएका हुन् । सांसदहरुले आजसम्म सरकार परिवर्तनको खेल मात्रै भएको भन्दै विधेयक निर्माण गर्न शिर्ष नेता र पार्टीहरुको ध्यान नपुगेको बताए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार परिवर्तनको कारणले प्रतिनिधि सभाको धेरै समय खेर गएको बताउनु भयो । उहाँले आगामी दिनमा विधेयक पारित गर्न समितिले क्रियाशिलता देखाउनुपर्ने बताउनु भयो । सरकारले तदारुकता देखाउनुपर्ने र सभामुखले पनि नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । उहाँले समितिका सांसदहरुले पनि उच्च रुपमा क्रियाशिलता देखाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘सरकार परिवर्तनको कारणले पनि बीचमा समय अरु विषयले खायो । त्यो कारणले अलिकति ढिला भयो । मलाई लाग्छ, विधेयकहरुमा छलफल र टुंग्याउने काम अगाडी बढ्छ । त्यो प्रक्रिया सुरु भइसकेको छ । समितिहरुले पनि आफ्नो क्रियाशिलता बढाउनुपर्छ । सबै दलका सांसदहरुको उच्च क्रियाशिताको माग गर्दछ । सरकारले पनि तदारुकता र क्रियाशिलता देखाउनुपर्छ । सभामुखले पनि नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ ।’


राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहनुभएका नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले समितिको बैठक नियमित रुपमा बस्न नसकेको बताउनु भयो । उहाँले दिन बिराएर संसद र समितिको बैठक सञ्चालन गर्नका लागि सभामुखसँग आफूहरुले कुरा राखेको जानकारी दिनुभयो । उहाँले संसदमा बिजनेशको अभाव भएर आकस्मिक, शुन्य र विशेष समयमा अल्मल्लिइ रहनुपरेको भन्दै अब भने स्थिर सरकार भएका कारण विधेयकहरु अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘समितिको बैठकहरु बस्न सकिरहेको छैन । अब हामीले सभामुखसँग समन्वय गरेर एकदिन समिति, एकदिन संसद राख्ने कुराहरु गरेका छौँ । अहिले बिजनेसको अभाव भएर हामी अल्मल्लिइ रहेका छौँ । आकस्मिक, शुन्य र विशेष समयमा माननीयहरु अल्मल्लिइ रहनुभएको छ । अल्मल्लिए पनि त्यसको ठोस जवाफ अहिलेसम्म पाउन सकेका छैनौँ । सरकारको डेलिभरी अहिलेसम्म पाउन सकेका छैनौँ । सरकार बनाउने र हटाउने खेलमा मात्रै बढी केन्द्रीत भयौँ । अब सरकारका गतिविधि जनताको काममा अगाडी बढ्नेछ । विधेयक अगाडी बढाउँछौ ।’


नेकपा(एमाले)का सांसद रघुजी पन्तले विगतमा मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयकलाई समितिमा छलफल गराउन र पारित गराउन चासो नदेखाएका कारण विधेयकहरु धेरै आउन नसकेको बताउनु भयो । उहाँले संसदलाई बिजनेस दिने काम सरकारको भएको भन्दै यसमा सरकारले ध्यान पु¥याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संसदमा विधेयकलाई अगाडी बढाउन मुलतः सरकारको महत्वपूर्ण भुमिका हुन्छ । यो भन्दा अगाडीका सरकारका मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयकहरुलाई समितिमा छलफल गराउन । त्यसमा पास गराउन चासो दिएको मैले देखिन । त्यो कमि अहिलेको सरकारले सच्याउनुपर्छ । यो सरकारले विधेयकहरु पास गराउने कुरामा ध्यान दिनुपर्छ । संसदलाई काम दिनुपर्छ । सभामुखले चाहेर मात्रै बैठक लम्ब्याउन सक्नुहुन्न । यो सरकारलाई काम दिने र ति कामहरुलाई पूरा गर्न घच्घचाउने काम सरकारको हो । अहिलेको सरकारले निश्चय पनि यो विषयमा ध्यान दिनु जरुरी छ ।’


महिला तथा सामाजिक मामिला समितिका सभापति समेत रहनुभएका नेकपा(एमाले)का सांसद किरणकुमार साहले सरकार अस्थिर भएका कारण विधेयक आउन नसकेको बताउनु भयो । उहाँले सांसदहरुको मुख्य काम विधेयकको भएपनि सरकारको अस्थिरताको कारण द्रुत गतिमा हुन नसकेको बताउनु भयो । उहाँले आफ्नो समितिमा अहिलेसम्म एउटा विधेयक पनि नआएको भन्दै विधेयक शुन्यताको अवस्थामा रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘सरकारको अस्थिरताका कारणले विधेयकहरु पनि अलमलमा परेको अवस्था छ । एउटा सरकारले विधेयक ल्याउने, अर्को सरकारले पास गर्नुपर्ने स्थिति हुन्छ । प्रतिनिधि सभा सदस्यहरुको काम, कर्तव्य भनेको नीति निर्माण गर्ने र विधेयक बनाउने नै हो । तर वास्तवमा जुन द्रुत गतिमा हामीले जनतालाई, आम नागरिकलाई जुन अधिकार सम्पन्न बनाउनुपर्ने, जुन विधेयकहरु बनाउनुपर्ने गतिमा काम गर्न सकेको अवस्था छैन सरकारको अस्थिरताको कारणले । महिला तथा सामाजिक मामिला समिति सभापतिको हैसियतले म के भन्न चाहन्छु भने अहिलेसम्म मेरोमा एउटा पनि विधेयक आएको छैन । हाम्रो समिति अहिले विधेयक विहिन अवस्थामा छ । विधेयक एउटा पनि आएको अवस्था छैन ।’


नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले मुख्य दल र नेताहरुको ध्यान सरकार बनाउने र सरकार फेर्नमा मात्र केन्द्रीत हुँदा संसद बरालिएको बताउनु भयो । उहाँले संसद बैठक चलाउन बिजनेसको अभाव रहेको बताउनु भयो । संसदको मुख्य काम कानून निर्माण भएपनि सन्तोषजनक र प्रभावकारी नभएको उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘नेताहरु, दलहरुको मुख्य ध्यान सरकार बनाउने, फेर्नेमै ज्यादा केन्द्रीत भएपछि संसद अल्मल्लियो । बरालियो । त्यसैले भोलिसम्मको संसद चलाउन जेनतेन प्रतिवेदनहरु छन् । तर पर्सिदेखि संसद चलाउन बिजनेस नै छैन । न समितिहरुले राम्रोसँग काम सम्पादन गरेर समितिमार्फत फुल हाउसमा विधेयक आएको छ, न सरकारले नै दिन सकेको छ । तुलनात्मक रुपमा प्रचण्ड सरकारबाट बिजनेश आएको थियो । संसदको मुल काम भनेको कानून निर्माणको काम हो । जुन सन्तोषजनक र प्रभावकारी ढंगले अगाडी जानुपर्ने हो, त्यो ढंगले नभएको कुरा साँचो हो ।’


त्यसैगरी, नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संविधानलाई कमजोर बनाउन चाहाने पात्रहरुको प्रतिनिधि सभामा बहुमत भएका कारण विधेयकहरु बन्न नसकेका बताउनु भयो । त्यसकारण संविधानको रक्षा र संविधानको सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐन, कानून निर्माणमा समस्या पैदा भएको उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘पछिल्लो समय प्रतिनिधि सभाको बनावट कस्तो रह्यो भने यही सत्तामा बस्ने तर सत्ता बिरोधी गतिविधि गर्ने । संविधानलाई अनिच्छापूर्वक स्वीकार्ने र संविधानलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी कमजोर बनाउन सकिन्छ, यो व्यवस्थालाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने पात्रहरुको बहुमत भएको नाताले पनि संविधानको रक्षा र संविधानको सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐन, कानुन निर्माणमा हामीलाई संख्यात्मक उपस्थितिले पनि समस्या पैदा गरेको छ ।’


सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकार परिवर्तन भइरहेका कारणले नै अपेक्षाकृत रुपमा विधेयकहरु निर्माण हुन नसकेको बताउनु भयो । नयाँ सरकारले पुरानो सरकारले ल्याएको विधेयकको स्वामित्व नलिने गरेको पनि उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘कतिपय विधेयकहरु जो निर्माण भएका हुन्छन्, समय परिस्थिति अनुसार सरकार परिवर्तन भइरहेको हुन्छ । एउटा सरकारले बनाउँछ, अर्को सरकारले पुनरावलोकन गर्ने भनेर पठाउँछ । त्यसो गर्दाखेरी पुनः शुरु हुन्छ । त्यो आइसकेपछि त्यसको स्वामित्व लिने मान्छेहरु हुँदैनन् ।’


त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहनुभएका जनमत पार्टीका सांसद अब्दुल खानले संसद बैठक र समिति बैठकको तालमेल नमिलेका कारण पनि समितिमा भएका विधेयकहरु छलफलमा ढिलाइ भइरहेको बताउनु भयो । उहाँले मन्त्रीहरुको फेरबदल भइरहेका कारण विधेयक द्रुत रुपमा पारित हुन नसकेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘संसद बैठक र समिति बैठकको तालमेल मिल्न नसकेको पनि अवस्था छ । सरकारका मन्त्रीहरु बदलिइसकेपछि कसरी आउनु ? अस्थिर राजनीतिको कारणले समस्या परेको छ । तर मलाई लाग्छ छिट्टै हुन्छ । पछिल्लो समयमा छिटोपनि भएको छ, सदन चलेको प्रत्येक दिन कुनै न कुनै विधेयक पास हुन्छ ।’


सांसद खानले पछिल्लो समयमा संसदबाट कुनै न कुनै विधेयक पारित भइरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist