विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वभाविक हुन्छ नै । त्यसैले पनि विराटनगरसँग धेरै मानिसहरु यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै शहर प्रवेश गर्ने गर्दछन् । तर पनि अनौपचारिक क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरूले काम पाउन सकेका छैनन् । बिहान–बेलुकाको छाक टार्न विराटनगर आउने श्रमिकको दिन कामको प्रतिक्षामै बित्ने गरेको छ । विराटनगर महानगरपालिकासहित मोरङका अन्य पालिका र सुनसरीका श्रमिक घरायसी कामदेखि निर्माणका काम हुँदै विभिन्न उद्योग–कलकारखानामा काम पाउने अपेक्षाका साथ विराटनगर प्रवेश गर्दछन् । मजदुर आन्दोलनमा महत्वपूर्ण योगदान बोकेको विराटनगरका भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँसचोक, भट्टाचोकमा भेला हुन्छन् र काम दिनेहरूको पर्खाइमा बस्छन् ।
साइकलमा कोदालो, बेल्चा बोकेर विराटनगर आइपुग्ने श्रमिकको भीड देख्न सकिन्छ । दिउँसोसम्म कामकै प्रतिक्षामा उनीहरुको समय बित्छ । काम पाउनेहरू खुशी हुँदै बाटो तताइरहँदा काम नपाउनेहरू काम दिनेहरूको प्रतिक्षा गरिरहन्छन् । झन् भारतीय मजदुरले सस्तैमा काम गरिदिँदा काम पाउन सकस भइरहेको उनीहरूको गुनासो छ । मजदुर गोपालकृष्ण राजवरले काम पाउन धेरै गाह्रो रहेको बताउनु भयो । उहाँले बाहिरको मानिसले सस्तोमा काम गरिदिँदा काम पाउन समस्या भएको बताउनु भयो ।
घर निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन् । केही व्यक्तिले घरायसी कामका लागि पनि उनीहरूलाई लैजान्छन् । माटो खन्नेदेखि बाटो खन्नेसम्म काम श्रमिकले पाउँछन् । तर डोजर र ट्रयाक्टरका कारण अहिले उनीहरूले काम पाउन छोडेका छन् । केही श्रमिकले त महिनौंदेखि काम पाएका छैनन् । तरपनि काम पाउने आशामा आफ्नो घरदेखि विराटनगर ओहोरदोहोर गरिरहन्छन् । काम नपाउँदा भोकै घर फर्किएर अर्काको खेतमा मजदुरी गर्न बाध्य हुनुपर्ने उनीहरूको दुखेसो छ । मजदुर शम्भू रावरले काम पाँच दिनमा एक दिन पाउने गरेको बताउनु भयो । उहाँले
बिहान भोकै विराटनगर आइपुगेका उनीहरू काम नपाएर निराश हुँदै गाउँतर्फ नै पाइला चाल्नु बाहेकको कुनै विकल्प देख्दैनन् । आफू भोकै घर पुग्दा परिवारको पनि उस्तै हाल हुन्छ । निर्माण क्षेत्रमा काम गर्ने, साना तथा मझौला व्यवसायमा खटिने र ज्यालामजदुरी गर्ने श्रमिकहरूले केही वर्ष यता काम नपाउने समस्या झेल्दै आएका छन् । आफूहरूको समस्या समाधान गर्न मजदुर नेता लागि परून् भन्ने चाहना उनीहरूको छ । मदजदुर मञ्जे लम्सालले काम नहुँदा भोकै घर फर्किनुपर्ने समस्या रहेको बताउनु भयो ।
आठ घण्टा काम गरेका पुरुषले ६ सय रुपैयाँ र महिलाले पाँच सय रुपैयाँ ज्याला पाउँछन् । कामसमेत लैंगिक विभेद गर्ने ठेकेदारहरूले श्रमिकको पसिनाको पनि कमिसन खान्छन् । नेपालका श्रमिकरूको संगठन हुन्छ, कामको सिलसिलामा ज्यान गए राजनीति हुन्छ भनेर नै ठूला उद्योग कलकारखानाले भारतीय श्रमिकलाई काममा लगाउँछन् । नेपालका श्रमिक भने यसको मारमा परेका छन् । नेपाल समाजवादी ट्रेड युनियन महासंघका उपाध्यक्ष तेजलाल कर्णले खुला सीमाना भएकाले भारतबाट कामदारहरु नेपाल आएर नेपाली कामदारहरु भन्दा सस्तोमा काम गरिदिँदा पनि समस्या आएको बताउनु भयो ।
हरेक वर्ष उनीहरू जस्तै श्रमिकलाई मध्यनजर गर्दै ‘मे दिवस’ मनाइन्छ । तर धेरै श्रमिकलाई आज विश्व मजदुर दिवस हो थाहा हुँदैन । स्थानीय निर्वाचन होस् वा संसदीय चुनाव । मजदुरका समस्या औंल्याउँदै धेरैले चुनाव जित्छन् । तर उनीहरूको समस्या भने ज्युँका त्युँ छन् ।