Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

एउटै पार्टीले बहुमत ल्याउन सक्नेगरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छः मिनेन्द्र रिजाल

काँग्रेस र एमालेले आफ्ना अविश्वास बिर्सिएर देशप्रतिको आफ्नो जिम्मेवारी सम्झेर केही जोखिम उठाउनुपर्ने थियो, यो त्यही जोखिम हो


यो गठबन्धनले राष्ट्रिय राजनीतिलाई पुँजीको रुपमा निर्माण गर्नुपर्छ

राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न काँग्रेस—एमाले सहकार्यः मिनेन्द्र रिजाल

RAW.00_25_34_13.Still002.jpg
नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली काँग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताउनुभएको छ । 
उहाँले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला काँग्रेस—एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर गर्नुभएको हो । उहाँले एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताउनु भयो । उहाँले एमाले र काँग्रेसका शिर्ष नेताहरु देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि दुवै नेता (नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) जोखिम रहेको बताउनु भयो । उहाँले जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनउन आवश्यक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताउनु भयो । उहाँले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरु सिर्जित भइरहने भएकाले काँग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले एउटाले अर्कोलाई झुक्याउन खोज्न र सत्ताकै लागि मात्रै भmगडा गर्नेकुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आज राजनीति जहाँ छ, त्यो राजनीतिबाट देशमा निराशा चुलिएको छ । र कहीँ न कहीँ एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देशका प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो । त्यो जोखिम उठाउने काममा निम्ति दुवै नेताहरु सहमत हुनुभयो । जोखिम छ दुवैलाई । एउटालाई मात्रै छ भन्दिन मैले । हामी कहाँ बढी होला जोखिम । किनकी हामी कुरेर बस्ने पार्टी छौं । ओलीजीले अहिले नै शुरु गर्नुहुन्छ । त्यसकारण जोखिम छ, नभएको होइन । तर जोखिमको बाबुजुत हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नुछ । परिमार्जन गर्नुछ । यो संविधान छुँदै नछोएको संविधान होइन । दुई वटा संशोधन भइसक्यो । त्यसमध्ये एउटा संशोधन त मैले हालेको संशोधनलाई स्वीकार गरेर भएको हो । त्यसैले यो जीवित दस्तावेज हो । पहिले २०४७ सालको संविधान नचलाउने भन्दा त्यसलाई हामीले फाल्नुपर्ने अवस्था सृजना भयो । त्यसैले संविधानलाई अहिलेसम्मको अनुभव, संघीयताको अनुभव, स्थानीय तहको प्रभावकारिताको अनुभव, अन्तर प्रदेशको समन्वयको अनुभव, संवैधानिक निकाय र अंग, न्यायालयहरुको नियुक्ति । र त्यो नियुक्तिमा आवश्यक सुधार नहुने हो भने ती निकायहरु कार्यकारिणीप्रति नतमतस्क हुने जस्तो बाध्यता सृजना हुन्छ थाल्छ । त्यतातिर ध्यान दिनुछ । केही काम गर्नुछ । त्यो काम गर्नका लागि काँग्रेस र एमाले कसरी तयार हुनुपर्छ भने एउटा पार्टी सत्तामा जाने, एउटा पार्टी प्रतिपक्षमा बस्ने हो । त्यो प्रतिपक्षमा बस्ने पार्टीले भोलि प्रतिपक्षमा बस्दापनि लोकतन्त्रको मुल आधारभुत मान्यताहरुमा तलमाथि नहुने स्थितिमा आश्वस्त रहनसक्छ भनेर यो जोखिम उठाउनुपरेको थियो । त्यसैले यो जोखिम उठाउनुभएको छ । दुवै नेताहरुलाई त्यस अर्थमा मैले बधाई दिनुपर्छ ।’

Minendra (3).jpg
संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमाले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्छ
देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने बताउनु भयो । काँग्रेसका लागि अझ बढी कठिन बन्ने उहाँको निस्कर्ष छ । निर्वाचनमा जाने क्रममा मधेस, शहरी क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको जिकिर गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने उहाँको अनुमान छ । दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्नसक्ने गरी योगदान दिनसक्नुपर्ने बताउनु भयो । संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने बताउनु भयो । पार्टीको तर्फबाट सबै नेताहरुको सहयोग वर्तमान सरकारलाई रहने पनि बताउनु भयो । उहाँले साना राजनीतिक दलहरुले पनि अभिमान नभइ संयमता अपनाएर काम गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,  ‘मेरो पार्टीका लागि बढी जोखिम छ यसकारणले कि हामीहरु यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौं । शहरी क्षेत्रमा हाम्रो निकै नै आधार गुमेको छ । हुन त दुवै पार्टीको हेर्दा हाम्रो ७ प्रतिशत गुम्यो, एमालेको ६ प्रतिशत गुम्यो । एमालेको ६ प्रतिशतमध्ये ३ प्रतिशत माधवजीको पार्टीले लगेको मत हो नि । त्यस अर्थमा उहाँहरुले ३ प्रतिशत गुमाउनु भयो । हामीले ६ प्रतिशत गुमायौं । २०६४ सालदेखिको अनुभवमा मधेसमा र अन्य ठाउँमा हामीले राम्रो मत पाउँथ्यौं । मधेसमा त्यो मत पाउँदा हामीले थुप्रो जित्थ्यौँ । त्यो आधार हामीले गुमाएका थियौं । यसरी आधार गुमाउने हो भने हाम्रा लागि आगामी दिनको राजनीति सहज नहुने अवस्था छ । ओलीजीको आफ्नो शैलीले एमाले चाहीँ माथितिर लागिराखेको छ भन्ने एउटा इम्प्रेशन दिन सक्नुभएको छ । त्यस किसिमले आश्वस्त गर्न सक्नुभएको छ । र आफ्नो लिडरसिपको समय पनि उहाँको लागि अलि धेरै छ । हाम्रो पार्टीको सभापति अन्तिम कार्यकालका लागि हुनुहुन्छ । उहाँले सबै काम सकेर पार्टीले निर्वाचनमा जित्न सक्ने खालको, देशमा कुनै दुर्घटना नपर्ने खालको र आफूले पार्टी र देशमा छोड्न चाहेको उतरदानलाई सुनिश्चित गर्नुपर्ने खण्ड छ । तर सँगसँगै कठिनाई छ । यसकारण छ कि संविधानलाई सबैभन्दा अगाडि राखिदिउँ भने हामीले त्यसका बारेमा शंका गर्ने आधार बढी हुन्छ । जनताले हामीसँग खोजेको संविधानमा के छ, त्यो नेताले हेर्लान् । संविधानले एउटा प्रोसेस खोज्छ । हिजो संविधान सभाबाट बनाएको संविधान आज मान्छेसँगको कुराकानी गरेर प्रेसेसमा अघि लैजानुपर्छ । त्यो भन्दा अगाडि एउटा राजनीतिक पुँजी निर्माण गर्नुछ । त्यो भनेको शासनलाई ठिक बाटोमा नलग्दासम्म, कि यो जिम्मेवारी मेरो हो भन्ने ठाउँमा नपु¥याउँदासम्म । आजको दिनसम्म मेरोको सट्टा हाम्रो हुन्छ । हाम्रो भन्दा काँग्रेस र एमालेको हुन्छ । तर त्यो जिम्मेवारी मेरो हो भन्ने ठाउँसम्म नपु¥याउँदा जनता आश्वस्त हुँदैनन् । जनता आश्वस्त नहुँदासम्म जनताले अहिले पनि आशंका गरिरहेका छन् कि अर्को सत्ता परिवर्तनको खेल मात्रै हो भनेर । अनि हामी त्यसको बन्दी बन्न जान्छौं । त्यसकारण पहिला जनतामा चुलिएको निराशालाई कम गरौं । काँग्रेस र एमालेले आफ्नो आधारलाई फेरि पुनःजागृत गर्न सकोस् । त्यो पुनःजागरण भएपछि अनि प्राप्त भएको राजनीतिक पुँजीबाट हामीले संविधानको अभ्यासबाट पाएका कठिनाईहरुलाई बदल्ने काममा लाग्यौ भने हामी सहज रुपमा जान्छांै । अहिले पनि भन्छु–मुलकुरा एउटाले अर्कोलाई झुक्याउन खोज्ने हो भने दुई वटै पार्टीका लागि जति पनि ठाउँ छ । अलिकति बढी प्रधानमन्त्रीको पार्टीलाई होला । सत्ताको शुरुवात छ । हाम्रो पछिल्लो चरण हुन्छ । तर त्यस खेलबाट जनता आजित छ । त्यो खेलमा मात्रै हामी सिमित भयौँ भने हामीले जुन विरासतमा प्राप्त गरेको पार्टी हौं । यो विपी कोईरालाले स्थापना गरेको पार्टी, आजसम्म विरासतमा छ । उताको पार्टीले पनि ठूल्ठूला नेताहरुले, ठूल्ठूला आन्दोलनबाट ठूल्ठूला वैचारिक दृष्टिकोणबाट यहाँसम्म आईपुगेको पार्टी हो । त्यो शिलशिलाको एउटा बलियो नेता ओलीजी हुनुहुन्छ । अब छोड्ने कुरा त उहाँका लागि पनि महत्वपूर्ण छ नि । अब के छोड्ने होला योगदानका रुपमा । त्यसैले यो संविधान बनाउने बेलामा काँग्रेस र एमालेसँगै थियो । यो संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमाले पूरै देशलाई आश्वस्त गर्न सकोेस् । र साना पार्टीहरुलाई आज मैले केही पनि भन्दिन । यति भन्छु कि आफ्नो काम बिग्रँदाखेरी ग्रेस चाहिन्छ । काम सप्रिँदाखेरी ह्युमिनिटी चाहिन्छ । अभिमान होइन । अभिमान देखाउँदैनौ हामी । तर यति चाहीँ भन्छौं–जनताको म्याण्डेटको व्याख्या १३८ सांसद मसँग छ भनेर हुन्न भन्ने कुरालाई स्वीकार गरेर गयौं भने उहाँहरुले पनि आफ्नो भुमिका र आफूले प्राप्त गरेको जनमत र आफ्नो जनमतलाई बिस्तारित गर्ने भोलिका सम्भावनाहरुलाई जोगाएर राख्न सक्नुहुन्छ । यही काममा जुटौं । त्यही शुभकामना म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई दिन चाहन्छु । त्यही काममा लागि म नेपाली काँग्रेसको तर्फबाट आश्वस्त गर्न चाहन्छु । सभापतिजीले अगाडि बढाउनु भएको काममा हामी सबैको सहयोग रहन्छ भन्ने आश्वस्त गर्न चाहन्छु ।’
नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भयो
उहाँले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भएको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरुको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताउनु भयो । उहाँले सत्तादेखि सत्तासम्मका लागि राजनीतिक हुँदा परिवर्तनको नाममा उदाएका कुनैपनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताउनु भयो । उहाँले परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह गर्नुभयो । उहाँले मधेसी राजनीतिक दलहरुले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डाहरु बिर्सिएको बताउनु भयो । जुन मुद्दालाई प्रतिनिधित्व गरेर राजनीतिमा उदाइएको हो त्यही मुद्दा बिर्सिएको बताउनु भयो । 

RAW.00_25_42_10.Still005.jpg
उहाँले भन्नुभयो, ‘मैले आजको दिनमा उपदेश दिन थालेँ भने त्यो साना पार्टीहरुलाई पाच्य हुन्न । त्यो बाटोमा जानुहुन्न । उहाँहरुसँग मैले यति मात्रै भन्ने हो–अत्यन्तै विनम्र भावमा तपाईहरु परिवर्तनकारी शक्ति हुँ भनेर आउनुभएको हो नि त । अहिले नयाँ आउने पनि, २०६४ सालमा आउने पनि । तपाईहरुको परिवर्तनको एजेण्डा कमजोर भएको छ भन्ने लाग्यो र त्यो परिवर्तनलाई प्रतिनिधित्व गर्दै बस्नुभयो भने त बलियो प्रतिपक्ष बन्नुहुन्छ नि त । मधेसमा आएका दलहरु पनि सत्तामा त बसिरहनुभएको त कुनैपनि उपायबाट । तर उहाँहरुको आधार पनि कमजोर भयो त । आजको दिनमा जनता समाजवादी पार्टी अथवा लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा चिनिने पार्टीहरु हिजोको २०६४ सालको मधेसको आन्दोलनबाट स्थापित पार्टी थिए । तिनको पनि आधार अलि कमजोर भएको छ । त्यसैले उहाँहरुले पनि ध्यानमा के राख्नुप¥यो भने जे मुद्दालाई प्रतिनिधित्व गरेर उहाँहरु आउनुभएको थियो । त्यो मुद्दालाई स्थापित गर्ने कामभन्दा उहाँहरु सत्तामा आफू स्थापित हुने प्रतिष्पर्धामा अलि बढी ध्यान पुुगेको जस्तो देखिन्थ्यो । त्यसैले आजको दिनमा सबै विनम्रताका साथ उहाँहरुले जनतालाई परिवर्तनका लागि मत हाल भनेर आउनुभएको थियो । त्यसलाई प्रतिनिधित्व गर्दै बस्नुभयो भने काँग्रेस एमाले सरकारमा रहँदा पनि आम जनताको कुरा पार्लियामेण्टमा लिएर जान सक्नुहुन्छ । त्यो काममा सशक्त हुनुहोस् । किनभने सशक्त प्रतिपक्ष भयो भने लोकतन्त्र त बलियो हुँदै जाने हो नि ।’  
एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ
उहाँले गत निर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले काँग्रेस—एमाले एक्लाएक्लै चुनाव लड्न आग्रह गर्नुभएको स्मरण गर्दै आफू पनि सोही पक्षमा रहेको बताउनु भयो । तर पार्टी सभापति देउवाले माओवादीसँग मिलेर चुनाव नलड्दा माओवादी एमालेसँग मिल्न जाने कुरालाई मध्यनजर गरी सँगै चुनाव लड्नुपरेको बताउनु भयो । उहाँले परिणामतः निर्वाचन लगत्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिलेर सरकार बनाउन गएको पुष्टिले सभापति देउवाको सोचलाई स्वीकार गर्न बाध्य भएको बताउनु भयो । उहाँले त्यसैले पनि अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । संशोधन र परिमार्जन भनेको अहिले बाहिर आएको भ्रम जस्ते नरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेसीहरुमध्ये पनि अल्पसंख्यकको प्रतिनिधित्वको बाटो यथावत राखि एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनु भयो । उहाँले त्यो हुनसके मात्रै कुनै एक पार्टीले बहुमत नजिक वा बहुमत प्राप्त गर्नसक्ने बताउनु भयो । 

Minendra (2).jpg
उहाँले भन्नुभयो, ‘अहिले होइन अघिल्लो आम निर्वाचन अगाडि कसले टिकट पाउँछ भन्ने कुरामा छलफल समेत नहुँदाखेरी म आफ्नै अग्रसरतामा ओलीजीकोमा गएको थिएँ । पटक पटक भेटेको थिएँ साउन र भदौको महिनामा । र उहाँले पटक पटक के आग्रह गर्नुभएको थियो भने काँग्रेस र एमाले दुवै पार्टी अलगअलग चुनाव लडोस् भनेर । म त्यो पक्षमा थिए । त्यतिखेर मैले प्रधानमन्त्री, पार्टी सभापतिसँग पटकपटक आएर भने कि यो गरौं भनेर । त्यो बाटो ठिक हुन्छ भनेर । मैले परिणाममा के खोजेको हो भने यस्तो चुनाव होस्  नेपालको जुन चुनावमा काँग्रेस र एमाले जस्तो हैसियतको पार्टी आज काँग्रेस र एमाले छन् । भोलि कोही होला । त्यो हैसियतको पार्टी मज्जाले प्रतिष्पर्धा गरेर चुनाव लड्यो भने अनि एउटा म्यान्डेट बोकेर आउने हो । निर्वाचन प्रणालीमा केही परिवर्तन गर्नुछ । र निर्वाचन प्रणालीमा परिवर्तन गर्ने भनेको बाहिर आएको कोकोहोलो जस्तो जुन समुदायको, जुन पहिचानको महिलाको, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेसीहरुमध्ये पनि अल्पसंख्यकको । यस्ता थुप्रै समुदायहरु छन् । जसको प्रतिनिधित्व हुन सकेको छैन । तिनलाई प्रतिनिधित्वको बाटो बन्द गरेर होइन । त्यो प्रतिनिधित्वको बाटोलाई यथावत राखेर, जोगाएर अनि एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ भन्ने लागेको छ । यो भएपछि काँग्रेस वा एमाले एउटा पार्टी अथवा त्यो हैसियतको पार्टी सिधै बहुमत वा बहुमत भन्दा २, ४, ५ सिट कममा पुग्छ । त्यो भएपछि देशले एउटा बाटो लिन्छ भनेर हो । त्यो बाटोमा जाओस् भन्दा त्यो बेला मेरो सभापति प्रधानमन्त्रीले एउटा तर्क राख्नुभयो । जसलाई मैले काट्न सक्ने थिएन । उहाँले के भन्नुभयो भने–होइन माओवादी त एक्लै चुनाव लड्दैन । र माओवादी दौडेर गएपछि ओलीजीले माओवादीलाई लिँदैनन् भन्ने मलाई आश्वस्त हुने आधार छैन भन्नुभयो । मलाई लाग्छ–आज फर्केर हेर्दाखेरी उहाँको आशंका चाहीँ ठिक थियो मेरो विश्वास भन्दा । किनभने चुनाव पछि पनि प्रचण्डजीलाई प्रधानमन्त्री बनाउनु भयो ओलीजीले । अघिल्लो चुनावमा पनि त्यो भएको थियो । त्यसबेला प्रधानमन्त्री हाम्रो सभापति आफ्नो सभापतीय कार्यकालको दोस्रो चरणमा हुनुहुन्थ्यो । आफ्नो कार्यकालमा निर्वाचन तलमाथि हुँदाखेरी उहाँले चाहेजस्तो उतारदान पार्टीमा र आफ्नो योगदानमा छोडेर जानका लागि कठिनाई हुनसक्थ्यो होला नि त । त्यसैले मैले पछाडि फर्केर हेर्दाखेरी उहाँलाई त्यो क्रेडिट दिनुपर्छ ।’
नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist