शिवजी मण्डेल
धनगढी । मृत्यु भन्ने कुरा कसैको लागि अकल्पनीय र असह्य पीडा हो। यस्तै दुःखद घटना बझाङको एक परिवारमा भएको छ। जिल्लाको थलारा गाउँपालिका-३ देबलमाझ कि अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको निधनले उनका दुई साना नाबालक छोराछोरी बिचल्लीमा परेका छन्
राधिकाको घरमा हाल ४० दिनकी एक नवजात छोरी र ढाई वर्षको छोरा छन्। आमाको मृत्युपछि यी साना बच्चाको हेरचाह र भविष्यप्रति परिवार निकै चिन्तित छ।
नवजात शिशुलाई अझै पनि नियमित स्तनपानको आवश्यकता थियो। आमा गुमाएपछि बच्चालाई कसरी उचित स्याहार दिने भन्ने चिन्ताले परिवारलाई पिरोलेको छ।
ढाई वर्षको छोरालाई आमा गुमाउनुको अर्थ बुझ्न नसक्ने उमेरमा ठूलो मानसिक असर पर्ने खतरा छ।
राधिकाको घर पोत्नका लागि माटो खन्ने क्रममा ढुंगा खस्दा च्यापेर मृत्यु भएको हो ।
सोमबार दिउँसो करिब १ बजेको समयमा गाउँ नजिकै रहेको भगवती आधरभूत विद्यालय माथितिर घर पोत्ने माटो खन्ने क्रममा ढुंगा पल्टिँदा उनको घटनास्थलमै ज्यान गएको सोही वडाका वडाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
माटोको खानीमाथि ठूलो ढुंगा रहेको र आइतबार राति परेको पानीले माटो गलेका कारण ढुंगा खसेको हुनसक्ने वडाध्यक्ष भण्डारीको भनाइ छ ।
राधिकाका श्रीमान कुलराज उपाध्याय बाजुराको गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुख छन ।
ससुरा भोजराज उपाध्याय भगवती आधारभूत विद्यालय देवल बाँझमा प्रधानाध्यापक छन् । माघी पर्वको मुखैमा २४ वर्षीया राधिकाको मृत्यु हुँदा देवलबाझ गाउँ नै शोकमा डुबेको छ ।