पोखरा । पोखरा महानगरपालिकाले पातले छाँगो (डेभिड फल्स) को सम्पूर्ण सञ्चालन र व्यवस्थापन नियन्त्रणमा लिएको छ ।
मंगलबार महानगरको टोली पुग्दा डेभिड फल्सको गेटमा पुग्दा स्थानीयले अवरोध गरेका थिए । त्यससँगै महानगरपालिकाले पातले छाँगोको प्रवेशद्वार सिलबन्दी गरेको हाे ।
स्थानीय र विद्यार्थीले गेटमा लगाएकाे ताला ताेडेरै महानगरपालिकाले पातले छाँगो नियन्त्रणमा लिएकाे हाे ।
पाताले छाँगोको व्यवस्थापन महानगरपालिकाले यसअघि पटकपटक नियन्त्रणमा लिने प्रयास गरेको थियो । छोरेपाटन माविका विद्यार्थीसहित स्थानीयको विरोधपछि महानगरपालिका पछि हटेको थियो ।
छाँगो २०३४ सालदेखि छोरेपाटन माविले व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको छ । त्यहाँको आम्दानीले विद्यालय सञ्चालन हुँदै आएको बताइन्छ ।
महानरपालिकाले विभिन्न संरचना निर्माणसमेत गर्ने गरी निजी कम्पनीलाई भाडामा दिने सम्झौता गरेको हुँदा विद्यालय सञ्चालनको आम्दानी टुट्ने भन्दै स्थानीयले विरोध गरेका हुन् ।
पाताले छाँगो कै आम्दानीबाट एक सय बढी शिक्षकलाई विद्यालयले तलब दिने गरेको छ । त्यहाँबाट वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गर्दै आएको विद्यालयका प्रधानध्यापक डिल्लीराम भुसालले जानकारी दिए ।
पातले छाँगामा प्रवेश शुल्कबाट हाल मासिक २५ लाख रुपैयाँ विद्यालयमा निजी स्रोतबाट नियुक्त भएका शिक्षक र कर्मचारीमा खर्च हुने गरेको छ । प्रधानाध्यापक डिल्लीराम भुसालका अनुसार एक सय १२ शिक्षक तथा कर्मचारी रहेको विद्यालयमा ३० जना शिक्षक मात्रै सरकारी दरबन्दीका छन् ।
बाँकी ७० शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राखिएको र उनीहरुको खर्च पातले छाँगाको आम्दानीबाट हुँदै आएको उनको भनाइ छ । स्थानीयले विद्यालयले भोगचलन गर्दै आएको त्यस क्षेत्रलाई महानगरले हस्तक्षेप गर्न नपाउने दावी गर्दै आएका छन् ।
महानगरपालिकाले दुई करोड रुपैयाँमा मात्र ठेक्का लगाएको स्थानीयको दावी छ । यसअघिको आम्दानी भन्दा आधामा ठेक्का लगाइएपछि आफूहरु अन्दोलित बनेको स्थानीय देवराज आचार्यले बताए ।
उनले भने, ‘विद्यालयको जिम्मा सरकारले लिने होला, तर अघिल्ला बर्षमा चार करोड आम्दानी हुने गरेकामा अहिले दुई करोडमा ठेक्का लगाउनु शंका उत्पन्न भयो ।’
महालेखापरीक्षकको कार्यालयले राजस्व संकलनसम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि पातले छाँगो महानगर आफैले सञ्चालन गर्न लागेको हो ।
महानगरपालिकाले पातले छाँगोको सञ्चालन र व्यवस्थापनमा कुनै अवरोध नगर्न सबैलाई अनुरोध गर्दै राजस्व संकलन र संरचनागत व्यवस्थापनमा थप सुधार गर्ने प्रतिवद्धता जनाएको छ ।
पोखरा महानगरपालिकामा राजश्व प्रशासन महाशाखा प्रमुख नवराज पौडेलले सर्जिमन मुचुल्का प्रकाशित गरी महानगरपालिका र छोरेपाटन माविबीच भएको सम्झौता अक्षरश पालना नगरिएको उल्लेख गरेका छन् ।
सन् १९६१ मा यस छाँगोबाट खसेर डेभी नाम गरेकी एक स्वीस पर्यटक बेपत्ता भएपछि उनको नाममा छाँगोको नाम ‘डेभिज फल्स’ रहन गएको बताइन्छ ।
पाँच सय मिटर भूमिगत जल प्रवाह र एक सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ । विशेषगरी जेठदेखि असोजसम्म छाँगो हेर्न आकर्षक मानिन्छ ।
छाँगो वरपरका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्रिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोषाकसहितका तस्बिर खिच्ने ठाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।






