पोखरा । राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले सगरमाथा संवादले जलवायु परिवर्तन र त्यसले नेपालमा पारेका असरबारे संसारले सुन्नेगरी ध्यानाकर्षण गराएको बताउनुभएको छ ।
बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यसअघि पनि विश्वसामु जलवायु परिवर्तनकाका कारण भोग्नुपरेका समस्याहरु विश्वले सुन्नेगरि सगरमाथा संवादले गराएको दाबी गर्नुभएको हो ।
उहाँले सम्पन्न राष्ट्रहरुको हरित उर्जा गृहले ग्यास उत्सर्जन गरिरहेको र त्यसमा नेपालको भुमिका शून्य दशमलब शुन्य पाँच छ मात्र रहेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रकृतिमाथि हस्तक्षेप गरियो भने प्रकृतिले पनि हामीसँग बदला लिन्छ भन्दै प्रकृतिलाई अनुकुलमा लिएर सम्बन्ध बनाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
सगरमाथा संवादले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नुपरेको क्षति स्पष्टताका साथ विश्वसामु राखेकोले भोलि परिणाम पनि सगरमाथाझैं प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सगरमाथा संवादमा धेरै कुरा उठे । हामीले अन्तर्राष्ट्रियस्तरमा धेरै पटक हाम्रो देशको प्रतिनिधित्व गरेर जलवायु परिवर्तन र त्यसले पारेका असरहरुबारे संसारले सुन्नेगरि ध्यानाकर्षण गराएकै थियौं । नेपालले त्यसबाट भोग्नुपरेका समस्याहरु जानकारी गराएकै थियौं । तर, अहिले हामीले हाम्रै देशमा विदेशका समेत प्रतिनिधित्व गराएर जसरी सगरमाथा संवाद सम्पन्न ग¥यौं । आज जसरी जलवायु परिवर्तनका असरहरु हामीले भोगिरहेका छौं । भविष्यमा भोग्नुपर्ने कुरा आज नै हामीले भोगिरहेका छौं । हिमतालहरु फुटीरहेका छन् धेरै खालका असरहरु हामीले व्यहोरिरहेका छौं । ती असरहरु हाम्रै कारणले हो त ? हाम्रो कारणले हैन हामीले अझ कार्वन उत्सर्जनमा ०.०५६ मात्र नेपालको भुमिका रहेको छ । तर, आज सम्पन्न राष्ट्रहरुले हरित गृह ग्यास उत्सर्जन गरिरहेका छन् त्यसकारण हामीले त्यसको क्षति व्यहोर्नुपरेको छ । यसतर्फ संसारले सुन्नेगरि राखिएको छ । त्यसैलेगर्दा फेरिपनि आज जसरी सगरमाथा संवाद भनेर नाम दिइएको छ । भोलि यसबाट परिणाम पनि सगरमाथा झैं प्राप्त गर्नेछौं भन्ने विश्वास गर्दछु । जलवायु परिवर्तनका असर न्यूनीकरणमा विश्वसँग हामीले सहयोग प्राप्त गर्नु नै सगरमाथा संवादको मूल उद्देश्य हो । अब नीतिहरुमा पनि स्पष्टता चाहिएको छ त्यसकारण तीनै तहको सरकारको सहकार्य र समन्वयको आवश्यकता छ । हामीले गर्ने के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी स्पष्ट हुनुपर्छ । त्यसका लागि अस्पष्ट कानुनको परिमार्जन गरि सोही अनुरुप कानुन बनाउनुपर्छ । प्रकृतिमाथि हामीले हस्तक्षेप ग¥यौं भने प्रकृतिले पनि हामीसँग बदला लिन्छ । त्यसैले प्रकृति र मानवजातीको सम्बन्ध भनेको प्रकृतिलाई अनुकुलनमा लिएर सम्बन्ध बनाएर अघि बढ्ने हो त्यो कुरा हामीले पनि ध्यान दिनुपर्छ । तमाम समस्या न्युनिकरणमा आउने बजेटले स्थान पाउनेछ भन्नेमा विश्वास गर्न सकिन्छ ।
उहाँले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सोहीअनुरुप कानुन बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आगामी बजेटमासमेत स्थान पाउने विश्वास व्यक्त गर्नुभयो ।






