नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा प्रमुख कार्कीले सेवा प्रवाह गर्दा कर्मचारीले मन र ध्यान दिएर उपभोक्ताको हितमा कार्य गर्न आग्रह गरेका हुन्।
कर्मचारी संघ इकाई समितिका अध्यक्ष अनील शर्मा सवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका तत्कालीन उपाध्यक्ष भोजराज चापागाईलाई विदाई गरिएको थियो। उक्त अवसरमा प्रमुख कार्कीले कर्मचारीमा इमान्दारिता, लगनशीलता र जिम्मेवारी बोध आवश्यक रहेको उल्लेख गर्दै खानेपानी सेवा क्षेत्रलाई अब्बल बनाउने कार्य कर्मचारीबाट मात्र सम्भव हुने बताए।
कार्यक्रममा कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानलाई बलियो र भरपर्दो बनाउने अभियान कर्मचारीबाट मात्र पूरा हुने उल्लेख गर्दै कर्मचारीको सेवा, सुविधा तथा स्थायित्वतर्फ सिंगो व्यवस्थापन लाग्नुपर्नेमा जोड दिएका थिए।
अध्यक्ष धमलाले संस्थानको ३७औँ वार्षिकोत्सव आगामी फागुन १५ गते मनाइने जानकारी दिँदै कर्मचारी संघले रचनात्मक कार्यक्रममार्फत सबै कर्मचारीलाई जोड्न आग्रह गरे।
कर्मचारी संघ इकाई समितिका सचिव विमल तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै कर्मचारी संघका सदस्य विक्रम बरुवालले भोजराज चापागाईबाट सिक्नुपर्ने ज्ञान धेरै रहेको उल्लेख गरे। शिक्षक सेवामा आबद्ध भए पनि संस्थानप्रति निरन्तर माया र सद्भाव राख्न उनले आग्रह गरेका थिए।
कार्यक्रममा कर्मचारी संघ केन्द्रीय समितिका सल्लाहकार तथा पोखरा शाखाका प्रशासन प्रमुख विष्णु प्रसाद रेग्मीले कर्मचारी एकतामा जोड दिँदै आफूलाई परेको समस्या खुलस्त रूपमा राख्न आग्रह गरेका थिए।
त्यसैगरी कर्मचारी संगठन केन्द्रीय समितिका महासचिव वसन्तराज भण्डारीले संघका रचनात्मक कार्यक्रमलाई शुभकामना दिँदै विदाई भएका कर्मचारी चापागाईलाई आगामी दिनको सुखद यात्राको कामना व्यक्त गरे।
शिक्षक सेवा आयोगबाट आगामी यात्रा तय गरेका भोजराज चापागाईले कार्यालयको निर्देशन र आदेश पूर्ण रूपमा पालना गर्नु नै कर्मचारीको गहना भएको उल्लेख गर्दै सधैँ सकारात्मक सोचका साथ काम गर्न आग्रह गरे। उनले आफूबाट अन्जानमा भएका कमी–कमजोरीलाई मनमा नलिन कार्यरत कर्मचारीसँग अनुरोध समेत गरे।
कार्यक्रममा चापागाईलाई दोसल्ला तथा कदरपत्र प्रदान गरी सम्मान तथा विदाई गरिएको कर्मचारी संघका सदस्य रुपेश पाण्डेले जानकारी दिए।
हाल चापागाई बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका स्थित धारा माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका छन्।






