युकेमा रहेका सचित गुरुङको १९ औँ जन्मोत्सवमा उनका बाबा चन्द्रबहादुर र आमा शान्ता गुरुङले पोखराका दुई सामाजिक संस्थालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।
छोराको जन्मदिनमा गुरुङ दम्पतीले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद र बेलुकाको खानासहित खाद्यान्न सहयोग गरे । उनीहरूले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालकहरूलाई पनि बेलुकाको खाना र खाद्यान्न सहयोग उपलब्ध गराए ।
मानव सेवा आश्रममा आयोजित सहयोग कार्यक्रममा चन्द्रबहादुर गुरुङ भावुक बने ।
‘आश्रममा रहेका आमा र दिदीबहिनीहरूलाई देख्दा म भावुक बनेको छु, मेरो पनि आमा हुनुहुन्न । यहाँ आएर सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ उनले भने ।
छोराको जन्मदिनमा फजुल खर्च गर्नु भन्दा श्रीमती शान्ता गुरुङसँगको सल्लाहमा असहाय र विपन्नलाई सहयोग पुगोस भन्ने उद्देश्यले यो कदम चालेको उनले बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले सचितलाई जन्मदिनको शुभकामना दिँदै सहयोगप्रति आभार व्यक्त गरिन् । ‘समाजमा धन भएकाहरू धेरै हुन्छन्, तर मन भएकाहरू कमै हुन्छन्,’ मानव सेवामा भएको कार्यक्रममा उनले भनिन्, ‘चन्द्र दाइहरू जस्तै ठूला मन भएकाहरूका कारण नै आश्रम चलिरहेको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा छ ।’
चन्द्रबहादुरले सहारा क्लबलाई पहिलेदेखि नै सहयोग गर्दै आएका छन् । सहारा एकेडेमीमा चन्द्रबहादुर र उनकी श्रीमती शान्ता गुरुङसहित चन्द्रका ४ दाजुभाइले एउटा कोठा समेत निर्माण गरेका छन् । एकेडेमीमा रहेका बालकहरूको शिक्षा र पालनपोषणमा सहयोग पुगोस भनेर उनले जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका हुन् ।
सचित गुरुङ अहिले १९ वर्षमा लागेका छन् । उनी हाल युकेमा बसेर सिभिल इन्जिनियरिङ विषय अध्ययन गरिरहेका छन् । बुवा चन्द्रबहादुर नेपाल आएको बखत छोराको जन्मोत्सव पारेर पोखरामा रहेका २ संस्थाहरूलाई सहयोग गरिएको हो । उक्त सहयोग कार्यक्रममा सचितकी बज्यै धनमाया गुरुङ, मामा विकाश गुरुङ, माइजु सुमिना गुरुङ, दिदी सनिजा गुरुङ र सोल्टिनी सुदिया गुरुङ सहभागी थिइन् ।






