काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन आउन ६ दिन बाँकी रहँदा आयोगले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आजैदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो ।
आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै आचारसंहिताको पूर्ण पालना गराउन निर्देशन दिएको छ । निषेधित कार्य भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्न ७७ वटै जिल्लाका प्रशासन र सुरक्षा निकायलाई परिपत्र गरिएको छ ।
मतदानको दिन सवारीमा रोक
आयोगले मतदान हुने दिन अर्थात् फागुन २१ गते सवारी आवागमनमा कडाइ गर्ने निर्णय गरेको छ । फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइनेछ ।
यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन भने निर्वाध चल्न पाउनेछन् । कूटनीतिक नियोगका सवारी र आयोगबाट पास प्राप्त गरेका सवारी साधनलाई पनि अवरोध हुनेछैन ।






