पोखरा । पोखराको फोहर व्यवस्थापनको स्थायी समाधान कहिले हुने हो भन्ने प्रश्न अझै अनुत्तरित छ, तर लामो समयदेखि सडकमा थुप्रिएको फोहर आइतबारदेखि भने उठ्न थालेको छ ।
पोखरा महानगरपालिकाले राजनीतिक दल र स्थानीयसँगको समन्वयमा वडा नम्बर २१ को सम्मोस्थित सेती किनारमा तत्कालका लागि फोहर व्यवस्थापन सुरु गरेपछि सहरका गल्ली र चोकहरू सफा हुन थालेका हुन् । पुस अन्तिम सातादेखि रोकिएको फोहर संकलन कार्यलाई महानगरले सक्रियताका साथ अघि बढाएको छ । महानगरका प्रवक्ता मोति तिमिल्सिनाले वडा नम्बर २१ को सम्मो क्षेत्र बस्तीभन्दा टाढा र भौगोलिक रूपमा सुरक्षित खोंच भएकाले अल्पकालीन रूपमा त्यहाँ फोहर व्यवस्थापन गरिएको जानकारी दिए । अहिले वडा नम्बर २१ मा फोहर डम्पिङ गर्न थालेका छौं, यो अस्थायी समाधान मात्र हो, उनले भने, ‘सम्मो खोंच हो, जहाँ बस्ती पनि नजिक छैन र वातावरणको हिसाबले पनि सबैको सहयोगमा अल्पकालीन व्यवस्थापन गरिएको हो । महानगरले फोहर प्रशोधन गर्ने गरी दीर्घकालीन योजनाका साथ काम अगाडि बढाएको उनले बताए ।
पोखरामा दैनिक करिब १ सय ८० टन फोहर उत्पादन हुन्छ । विगत केही महिनादेखि नियमित संकलन हुन नसक्दा सार्वजनिक स्थलहरूमा झण्डै २ हजार टन फोहर थुप्रिएको अनुमान छ । पहिलो चरणमा सडक क्षेत्रको फोहर उठाउने र त्यसपछि टोल-टोलमा नियमित गाडी पठाउने महानगरको योजना छ । मङ्गलवार साँझसम्म सहरी क्षेत्रका अधिकांश फोहर संकलन भइसकेको जानकारी दिँदै प्रवक्ता तिमिल्सिनाले भने, सबै ठाउँको फोहर उठ्न केही समय लाग्छ, अबका केही दिनमा बाटो र चोकका सबै फोहर उठ्नेछ । त्यसपछि पहिलेकै जस्तो नियमित रूपमा फोहर संकलन हुनेछ ।






