पाेखरा । अमेरिकाको फेलाडेल्फियामा जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो ।
फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ ।
फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक यो विमान स्थानीय समयअनुसार साँझ ६ः३० बजे उडान भरेको ३० सेकेन्डमै ६दशमलव४ किलोमिटर टाढा दुर्घटनामा परेको हो ।
एएफपीका अनुसार विमान घरमाथि खसेको थियो । जहाँ आगो लागेको थियो । घनाबस्ती भएको क्षेत्रमा उक्त विमान खसेको हो ।
यसअघि गत बुधबारमात्रै वाशिङ्टन डीसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर आपसमा ठोक्किँदा सबै ६७ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
पोटोम्याक नदीमा खसेका जहाज र हेलिकप्टरबाट अहिलेसम्म ४० जनाको मात्र शव फेला परेको छ ।
स्थानीय सरकारले सबैको मृत्यु भएको अनुमान गरेको छ । जहाजमा चार चालक दलका सदस्यसँगै ६४ यात्रु तथा हेलिकप्टरमा तीन जना सवार थिए ।






