डोल्पा । सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी एक सुत्केरीको उद्धार गरिएको छ ।
ठूलीभेरी नगरपालिका वडा नं १० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।
विक यही माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुगेकी थिइन् ।
विकलाई उपचारका लागि शनिबार बिहान जिल्ला अस्पताल डोल्पामा पुर्याइएको थियो ।
विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पतालले रगत चढाएर अस्पतालकै समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको अस्पतालका चिकित्सा शाखा प्रमुख डा अखण्ड उपाध्यायले जानकारी दिए ।






