पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका २५ जना महिलालाई अचार बनाउने तालिम दिएको छ ।
महिलालाई व्यवसायिक र स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिम यही फागुन ११ गते शुरु भएर आज समापन भएको हो । तालिम समापनमा वडाध्यक्ष रुद्रनाथ बरालले तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
उनले भने्, ‘विगतमा पनि हामीले कोशीखेतीलगायतका थुप्रै तालिम आयोजना गरेका थियौँ, ती तालिम निकै प्रभावकारी भए, अचार बनाउने तालिम पनि निकै प्रभावकारी हुन्छ भन्नेमा ढुक्क छौँ ।’
उनले तालिममा सिकेका सिप व्यवहारमा पनि लागू गर्न उनले आग्रह गरे । साथै उनले तालिममा सहभागीले आआफ्ना टोलमा प्रशिक्षकको भूमिकामा सबैलाई सिकाउनुपर्नेमा उनले जोड दिए ।
अचार बनाउने तालिम एउटा तालिममात्र नभएको भन्दै उनले यसले धेरैलाई स्वरोजगार, अर्थोपार्जनमा महत्वपूर्ण टेवा पुर्याउने उनको दावी छ ।

कार्यक्रममा वडा सदस्यद्वय लक्ष्मी विक र गोविन्द बरालले तालिम महिलाका लागि निकै प्रभावकारी हुने बताए ।
प्रशिक्षार्थी अञ्जु चालिसे र सपना कुँवरले तालिमले आफूहरुको क्षमता बढाउनुका साथै एउटा सिप थपिदिएको बताए ।
तालिमा सहभागीलाई सोनल बोगटीले प्रशिक्षण दिएकी थिइन् ।
वडाध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडासचिव झम्कनाथ पौडेलले गरेका थिए ।






