पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मासबारमा देखिएको चितुवा नियन्त्रणमा लिइएको छ ।
मंगलबार दिउँसो करिब ३ बजे मासबार कोलबारी मार्गस्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द्र बरालको घरको कम्पाउण्ड भित्र चितुवा फेला परेको थियो ।
मानिस बस्ने घरकै कम्पाउण्डभित्र दिउँसै चितुवा देखिएपछि स्थानीय त्रसित बनेका थिए ।
चितुवा देखिएपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालय कास्कीमा खबर गरेपछि प्रहरी र डिभिजन वन कार्यालय कास्कीका कर्मचारी चितुवा नियन्त्रणमा खटिएका थिए ।
वन अधिकृत हरिप्रसाद गौतमको नेतृत्वको टोलीले चितुवालाई जीवितै उद्धार गरेको थियो । सो चितुवा लेखनाथको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरिएको छ ।






