पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ सुन्दरबजारस्थित मातृभूमि क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलै निर्वाचित भएको छ ।
जस अनुसार स्ववियु सभापतिमा नेविसंघका विशाल थापा ५५ मतका साथ विजयी भए । अनेरास्ववियुकी मन्दिरा सार्कीले १९ मत पाइन् । सचिवमा नेविसंघका सरला अधिकारी ४६ मतका साथ विजयी हुँदा अनेरास्ववियुकी सृजना सार्कीले २६ मत पाइन् ।
कोषाध्यक्षमा नेविसंघकी अञ्जली विक ४८ मतका साथ विजयी भइन् । अनेरास्ववियुकी अनुषा कँडेलले २६ मत पाइन् । सदस्यमा अस्मिता पौडेल, प्रियङ्का क्षेत्री र रक्षा पोखरेल निर्वाचित भएको बताइएको छ ।
यता, लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलस्थित मंगला क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघको प्यानलै सर्वसम्मत भएको छ । क्याम्पसले सोमबार एक सूजना जारी गरी स्ववियुमा नेविसंघको प्यानलै विजयी भएको घोषणा गरेको छ ।
क्याम्पस प्रमुख उदयचन्द्र कँडेलद्वारा जारी सूचना अनुसार मंगला क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यक्रम अनुसार क्याम्पसमा २०८१ फागुन २७ गते तोकिएको समय सीमाभित्र नेपाल विद्यार्थी संघका तर्फबाटमात्र उमेद्वारी मनोनयन दर्ता गरेको र अन्य विद्यार्थी संघ संगठनको उमेद्वारी दर्ता नभएकोले क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघका पदाधिकारी सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ ।
क्याम्पसको स्ववियु सभापतिमा रामचन्द्र खनाल, सचिव रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा राधा सिंजाली निर्वाचित भएको घोषणा गरिएको छ । सदस्यमा दीपक ओझा, कृष्णमुरारी कगाले, मनिता भुजेल, मनिषा नेपाली, शुष्मा अधिकारी, सुकमित गुरुङ, अनिल मिश्र र विनोद न्यौपाने छन् ।






