पोखरा । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ ।
शुक्रवार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए ।
उनले जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी बिस्तार गर्नुपर्नेमा जोड दिए । उनले सबैको सहकार्यबिना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीको सामना गर्न नसकिने बताए । दीगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीति कार्यान्यन गर्न सरकार अग्रसर रहेको उनको भनाइ छ ।
पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञसँग छलफल गर्न सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कार्यक्रममा जलस्रोतको अन्तरदेशीय सहकार्य तथा जलस्रोत उपयोगमा रहेका चुनौतीका बारेमा छलफल हुने बताइएको छ ।






