पाेखरा । नेपाली फुटबल टिमले पहिलो पटक सिंगापुरलाई हराएको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले ऐतिहासिक जित हासिल गर्ने क्रममा १-० ले पराजित गरेको हो । फिफा वरीयतामा नेपालभन्दा सिंगापुर १५ स्थान माथि छ ।
नेपाललाई जिताउन जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे । उनले खेलको १२ मिनेटमै गोल गरेका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टचमा गोल गरेका हुन् ।
त्यसपछि सिंगापुरले गोल फर्काउन नसक्दा पराजित भयो भने नेपालले ऐतिहासिक जित हासिल गर्याे । सिंगापुरले खेलकाे अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए ।
नेपालले ३६ वर्षपछि सिंगापुरलाई हराएर बदला लिएको हो । नेपालले चौथो भेटमा सिंगापुरलाई पराजित गरेको हो । सन् १९८२ मा २-० ले, सन् १९८९ मा ३-० ले र १९८९ मै ७-० ले सिंगापुरले नेपाललाई हराएको थियो ।
म्याट रोसले पहिलो खेलमै नेपाललाई ऐतिहासिक सफलता दिलाएका हुन् । उनले नेपाली टिमको प्रशिक्षण सम्हालेपछि पहिलो खेलमै नेपाललाई जिताए ।
नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।






