बागलुङ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयतालाई सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।
बागलुङमा आयोजित भेटघाटमा उनले संघीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक रहेको स्पष्ट पारे ।
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले जनताको नजिक रहेको स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
संविधानले स्थानीय तहलाई बलियो बनाउने व्यवस्था गरेको भन्दै उनले जनताका आधारभूत आवश्यक पूरा गर्न गम्भीर भएर लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।
सङ्घीय व्यवस्थालाई थप सबल र सरल बनाउनुपर्ने भन्दै उनले तीनै तहका सरकारलाई बलियो र मजबुत बनायौँ भने मात्रै नागरिकले सङ्घीयताको अनुभूति गर्न सक्न् बताए ।
यसमा केन्द्र सरकारले आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । स्थानीय तहलाई थप बलियो बनाउन समानुपाति ढङ्गले बजेट व्यवस्थापन तथा वितरणमा ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ ।
सरकारले सङ्घीयताको आभास हुने गरी सेवा प्रवाहलाई प्रभावकारी गराउनुपर्नेमा उनले जोड दिए ।






