पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज हुँदैछ । यसअघि दुई पटक मिति तय भएर स्थगित निर्वाचन आज हुन लागेको हो । पोखरा महानगरपालिका वडा नं १ बगरस्थित क्याम्पस परिसरमा आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान समय तोकिएको छ ।
निर्वाचन समिति संयोजक प्राडा रामचन्द्र पोखरेलले आइतबार हुने मतदानपूर्व विद्यार्थीका प्रतिनिधिलाई बिहान ७ बजे नै बोलाइएको र ८ बजेदेखि मतदान शुरु हुने जानकारी दिए ।
यसअघि, विविध कारणवश निर्वाचन स्थगित भए पनि यसपालि निर्वाधरुपमा सम्पन्न हुनेमा निर्वाचन समिति विश्वस्त रहेको जनाएको छ ।
पृथ्वीनारायण क्याम्पसमा २०६५ सालयता चुनाव हुन सकेको थिएन । गत ५ चैतको निर्धारित निर्वाचनमा मतदान शुरु हुनै लाग्दा मतपत्रमा त्रुटि भेटिएपछि उत्पन्न विवादले निर्वाचन रोकिन पुगेको थियो । चैत ५ गते बिहानसम्म क्याम्पसमा कुनै विवाद र समस्या नहुँदा देशभरकै नमुना निर्वाचन पृथ्वीनारायण क्याम्पसमा हुँदैछ भन्ने चर्चा गरिएको थियो ।
मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुटेपछि विवाद सिर्जना भएको थियो । त्यसक्रममा विद्यार्थीले नाराबाजीसमेत गरेका थिए भने चैत ५ गते दिनभर क्याम्पस क्षेत्र तनावग्रस्त बनेको थियो ।
निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले भोलिपल्ट ६ चैतका लागि मतदानको कार्यतालिकासहित सूचना जारी गरे पनि साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेपछि अनिश्चितकालसम्म निर्वाचन स्थगन गरिएको थियो ।
मतपत्रमा त्रुटिको विषयमा निर्वाचन समितिले आत्मालोचनासमेत गरेको थियो । क्याम्पसमा एकछत्र चुनाव जित्दै आएको अनेरास्ववियुले चुनाव भाँड्न अनेक प्रपञ्च रचिएको भन्दै तत्काल निर्वाचन माग गर्दै सांकेतिक विरोधका कार्यक्रम जारी राख्यो ।
चैत ६ गते निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको सर्वपक्षीय बैठककाले चैत १० गते निर्वाचनको नयाँ मिति तोकेको हो ।
आज हुने मतदानमा क्याम्पसका नौ हजार दुई सय ७० जना विद्यार्थी सहभागी हुँदैछन् ।
पृथ्वीनारायण क्याम्पसमा २२औं स्ववियु अध्यक्षका लागि दुई स्वतन्त्रसहित आठ जना अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । २१ सदस्यीय समितिका लागि १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।
समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एक जना उपाध्यक्ष र एक जना सहायक सचिव हुने व्यवस्था छ । निर्वाचनका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन् ।
एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल र काँग्रेस निकट नेविसंघका सुशील न्यौपाने नेतृत्वको प्यानलबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको भए पनि स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले कडा टक्कर दिने बताइएको छ ।
स्ववियु अध्यक्ष पदका लागि मा अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मीलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ र स्वतन्त्र विप्लवी न्यौपाने पनि स्वतन्त्र उम्मेदवार छन् ।
पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक नेता जन्माउने थलोका रुपमा पनि लिने गरिन्छ । यही क्याम्पसमा स्ववियु अध्यक्ष बनेका पूर्वमन्त्री रवीन्द्र अधिकारी, पोखरा महानगरपालिकाका वर्तमान मेयर धनराज अधिकारी पनि हुन् ।






