पोखरा । विभिन्न घटनाक्रमले चर्चित बनेकाे ‘गण्डकी कोटीहोम महायज्ञ-२०८२’ पोखराको बिरौटामा हुने भएको छ । कोटीहोम यही चैत १७ देखि २०८२ जेठ २६ गतेसम्म हुनेछ ।
आयोजक मानव सेवा फाउण्डेशन स्थान परिवर्तन गरेर काेटीहाेम सञ्चालन गर्न तयार भएपछि पाेखरा-१७ विराैटामा काेहीहाेम हुने भएकाे हाे ।
पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरकाे जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोम हुने भएको हो ।
लेकसाइडस्थित नेपाल ट्रष्टकाे जग्गामा कोटीहोमकाे तयारीसँगै विवाद बढ्दै गएकाे थियाे । विवादकै बीचमा भूमिपुजन गर्न लाग्दा आयोजक र पोखरा महानगरका नगर प्रहरीबीच झडप भएको थियो । त्यसपछि दुवैपक्ष लचिलो हुँदै स्थान परिवर्तन गरेर कोटीहोम सञ्चालन गर्न आयोजक र अनुमति दिन पोखरा महानगरपालिका तयार भएको हो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यको आह्वानमा गत फागुन २६ मा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विश्वहिन्दू महासंघका प्रतिनिधि, आयोजक मानव सेवा फाउण्डेशनका प्रतिनिधिलगायतको उपस्थितिमा बैठक बसी कोटीहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो ।
विकल्पकाे खाेजी गर्नेक्रममा बिरौटास्थित सिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समितिको जमिन तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर कोटीहोम सञ्चालन हुने भएको हाे ।
पोखरा महानगरले कोटीहोमका लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटीहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमति दिएपछि फाउण्डेसन बिरौटामा नै कोटीहोम सञ्चालन गर्न तयार भएको हो ।
पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समिति, समस्या समाधान वार्ता समिति, वडा कार्यालय पोखरा-१७, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएपश्चात् फाउण्डेसन काेटीहाेमको तयारीमा जुटेकाे जनाएको छ ।
काेटीहाेम संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी महाराजले आइतबार काेटीहाेम स्थल अवलाेकन गरेका थिए । साे क्रममा उनलाइ विभिन्न आमा समूह, टोल विकास संस्था, स्थानीय संघसस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । साथै उनीहरूले कोटीहोम सफल बनाउन सहयाेग प्रतिबद्दता जनाएका थिए ।






