पोखरा । आज अन्तर्राष्ट्रिय क्षयरोग दिवस संसारभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
हरेक वर्षको मार्च २४ तारिखका दिन क्षयरोग रोगविरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।
यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने नारा तय गरिएको छ ।
नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरेको छ ।
क्षयरोग विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग हो । क्षयरोगका कारण नेपालमा पनि हजारौँ मानिस प्रभावित भइरहेका छन् ।
नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्ति थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा दुई सय २९ रहेको थियो ।
त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।
यही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार साथ सय ७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति सात सय ५६ जना थिए ।
उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए ।
यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
हरेक बर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क छ।
लक्षण र उपचार
तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ।
त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ। शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ। यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ। औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकको भनाइ छ।






