पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने भएको छ । कार्यक्रम यही चैत २२ गते शुक्रबार दिउँसो ३ बजेदेखि शुरु हुनेछ ।
कार्यक्रममा न्यौपानेका १८ गीत प्रस्तुत र न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्रसमेत प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन् । सांगीतिक साँझमा प्रवेश निःशुल्क गरिएको छ ।
न्यौपानेका सररर पानी घट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैन जस्ता धेरै गीत चर्चित छन् । २०२९ सालमा स्याङ्जामा जन्मिएका न्यौपाने साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा छन् ।
२०४६ सालमा बलाम देवीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका न्यौपानका करिब हजार भन्दा बढी गीत रेकर्ड भएका छन् ।

उनले लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् ।
कर्मथलो पोखरा र जन्मघर स्याङ्जा भएकाले पनि सांगीतिक साँझ पोखरामा गर्न लागिएको गायक गायक न्यौपानेले बताए । जन्मघरबाट आउन पायक हुने र सम्बन्ध अल्ली बढी भएकाले पोखरा रोजिएको उनको भनाइ छ ।
अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ अघि बढेको प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो ।
बर्सेनि एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनाअनुसार कार्यक्रम गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष मगरले बताइन् ।
लोक सङ्गीतको संरक्षण, संवर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील छ ।






