पोखरा, बैशाख १३, २०८२
मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार र धार्मिक–सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए।
र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्यालीले पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताउनुभयो। “यो र्यालीले महायज्ञप्रतिको उत्साहलाई अझै बढाएको छ। पोखरेली जनताको सहभागिताले हामीलाई थप प्रेरणा मिलेको छ,” उहाँले भन्नुभयो।
र्यालीमा सहभागी मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरेका थिए। र्यालीका क्रममा धार्मिक भजन र सन्देशमूलक नाराहरूले पोखराको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो। स्थानीय बासिन्दा र दर्शकहरूले र्यालीलाई हौसला प्रदान गर्दै स्वागत गरेका थिए।
मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। फाउण्डेशनका अनुसार, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना हुनेछ। यसअघि बैशाख ११ गते साइकल र्याली र बैशाख १२ गते ट्याक्सी र्याली सम्पन्न भइसकेका छन्।
र्यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति थप उत्साह जागेको छ। फाउण्डेशनले आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन सबैमा अपिल गरेको छ।






