पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको हत्या र असत्यको प्रवद्र्धनका लागि प्रविधिको प्रयोग गर्न नहुनेमा जोड दिनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको सही प्रयोगमा सजग रहनुपर्ने बताउनु भएको हो ।
उहाँले सूचना प्रविधिको क्षेत्रमा विशेष विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई छिटो, छरितो र सुविधायुक्त बनाउन प्रविधिको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले पछिल्लो समय बेइमानीको खेती गर्न र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रविधिको विकाससँगै उत्पन्न हुने समस्याहरूको समाधान गर्दै मानव समाजलाई सुखी बनाउने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बेइमानीको खेती गर्न र इमानको हत्या गर्न टेक्नोलोजीको दुरुपयोग नहोस् भन्ने कुरामा हामी सजक हुनुपर्दछ । सत्यको गला रेट्न र असत्यको जरामा पानी हाल्नको लागि एआईको प्रयोग नहोस् । यसमा हामीले ध्यान दिनुपर्दछ । टेक्नोलोजीको विकाससँगै आएका समस्याहरुको हामीले समाधान पनि गर्दै जानुपर्छ । मानव समाजलाई सुखि बनाउन टेक्नोलोजी चाहिन्छ । आईसिटीको क्षेत्रमा हामीले विषेश विकास गर्नुछ । ताकि सेवालाई छिटो, छरितो, सुविधायुक्त, सहज आपुर्तिको परिपाटिको लागि आवश्यक छ । त्यसकारण आज सूचना प्रविधिको लागि विशेष दिन हो । हामी एउटा आत्मविश्वास र उत्साह लिएर अगाडि बढौं ।’
कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उपकरणहरू दुरुपयोग भइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ ।






