पोखरा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरु औचित्य नरहेको जिकिर गर्नुभयो ।
उहाँले नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएपनि समष्टिगत रुपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको बताउनु भयो । नवउदारवाद र समाजवाद एक अर्काका विपरित भएको बताउनु भयो ।
अध्यक्ष यादवले भन्नुभयो, ‘नीति तथा कार्यक्रम वास्तवमा कहिले कहाँबाट शुरु भएर राजा, महाराजाको पालादेखि शुरु भएर त्यसलाई कमरेडहरुले पनि धान्या हो । नत्र यसको त कुनै जरुरत र औचित्य नै छैन । यसले के गर्नु, बुक बाँड्ने, टिका टिप्पणी बाहेक के हुनेवाला छ । औचित्य के छ । यो कुरा बजेटले केही सपोर्ट गर्ला, केही नगर्ला । कर्मकाण्डमै भएपनि सरकारले ल्याएको छ । सरकारले आफ्ना नीति राख्ने हो । नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएको छ । तर समष्टिगत रुपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ छ । नवउदारवाद र समाजवाद एक अर्काका विपरित कुरा हुन् ।
अध्यक्ष यादवले समाजवादउन्मुख भएको भए उपभोक्ता वर्ग, गरिव, किसान, मजदुर, सर्वहारा,मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक, दलित, महिला, विपन्न वर्गलाई केन्द्रमा राखेर नीति तय गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो ।






