पोखरा । पोखराकी वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ ।
गण्डकी साहित्य सङ्गमले यही जेठ १० गते ९६औँ गोकुल जयन्तीका अवसरमा उक्त पुरस्कार उहाँलाई समर्पण गर्ने भएको हो ।
प्रगतिशील साहित्य र लोकसङ्गीतका माध्यमबाट नेपाली समाजमा पुर्याएको योगदान बापत कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिका संयोजक सुरज उपाध्यायले जानकारी दिए ।
गण्डकी क्षेत्रमा क्रियाशील स्रष्टालाई हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि रू २० हजार रहेको छ ।
पोखरा महानगरपालिका-६ बैदाममा विसं २०१५ मा जन्मिएकी कोइरालाले करिब पाँच दशकदेखि प्रगतिशील, जनपक्षीय तथा देशभक्तिपूर्ण गीत र कविता सिर्जना गर्दै आइरहेकी छन् ।
उनले हालसम्म आठ सय भन्दा बढी लोकगीत गाइसकेकी छन् भने दर्जनौँ कविता र गीत सङ्ग्रह प्रकाशित छन् ।
उनका चर्चित कृति र सिर्जनामा ‘मेरो देशको छातिभित्र दुःखेजस्तो लाग्छ’, ‘तरङ्ग’, ‘सारङ्गीमा भुल्यो मन’, ‘माइतै रमाइलो’, ‘के छ हजुर हालचाल यता रु’, ‘कसका जन्ती आए ?’ लगायत छन् ।
मौलिक तीज सिर्जना र गायनमा पनि उनको विशेष योगदान छ । ‘ऐना हेरेर’, ‘आमा तिम्रो दूधको भाराले’, ‘फूलको बासना’ आदि उनका लोकप्रिय गीत हुन् ।
सङ्गीत-नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यका रूपमा समेत काम गरिसकेकी कोइराला हाल पनि विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थासँग आबद्ध छन् ।
‘गण्डकी वाङ्मय पुरस्कार’ यसअघि भेषजराज शर्मा, डा भवानीप्रसाद पाण्डे, दिल साहनी, कुलबहादुर केसीलगायत स्रष्टालाई प्रदान गरिएको थियो ।






