पोखरा । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै छ । जसको प्रभावले अझै तीन दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हवाहुरी र चट्याङ परिरहेको उल्लेख गर्दै सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकाले जुनसुकै समयमा पनि वर्षा हुने बताइन्छ ।
अहिले प्रिमनसुनको समयमा खासगरी साँझको समयमा चट्याङसहितको वर्षा हुने गर्छ । आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना छ ।
देशका केही स्थानमा मेघगर्जन–चट्याङ्ग–हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।






