पोखरा। पोखरा महानगरपालिकाका जिम्मेवार पदाधिकारीहरु अधिकांशले पोखरा महानगरपालिका वडा नं. १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञप्रति बेवास्ता गरिरहेकाे आयाेजकले बताएकाे छ ।
अन्य स्थानमा हुने धार्मिक गतिविधिहरुमा सक्रिय सहभागी हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कोटीहोममा सहभागी हुने त परै जावोस, यसका बारेमा चुँइक्क बोल्नुभएकाे पनि छैन्।
सन् २०२५ मा १० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ पोखरा पर्यटन वर्ष २०२५ घोषणा गरेको पर्यटकीय राजधानी पोखराका मेयर धनराज आचार्य दैनिक जसो हजारौं स्वदेशी तथा बिदेशी भक्तजनहरु जम्मा भएर धार्मिक गतिबिधि गरिरहेको कोटीहोम क्षेत्रमा जाने त परे जावोस, फर्किएर पनि नहेरेकाे आयाेजकले बताएकाे छ ।
अद्यापि कोटीहोम आयोजक मानव सेवा फाउन्डेशनले अहिलेसम्म करीब पांच लाख स्वदेशी तथा बिदेशी भक्तजन एबम श्रद्धालुहरूले कोटीहोममा सहभागिता जनाएको दाबी गरेको छ।
पोखरा भ्रमण वर्षमा यी भक्तजन एबम श्रद्धालुहरूको गणना हुने हो कि नहुने हो ? महानगरपालिकाले केही बोलिरहेको छैन।
पोखरा महानगरपालिकाको स्वीकृतिमा पोखरा महानगरपालिका वडा नम्बर १७ मा जारी चलेको श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञलाई महानगरले मान्यता नदिएर बेवास्ता गरिरहेको जस्तो पोखरेलीहरुले अनुभूति गरिरहेका छन्।
त्यसो त पोखरा महानगरपालिकाले आधिकारिक रुपमा उक्त कोटीहोमका बारेमा केही बोलेको छैन। तर महानगरका पधाधिकारीहरुका निकटस्थहरु केही असहाय तथा टुहुरा बालबालिका पाल्न पोखराबाट २५ करोड रुपियाँ उठाएर लैजाने योजना बनाएको मानव सेवा फाउन्डेशनको नियति ठिक नभएको बताइरहेका छन्।
उनीहरुले उक्त कोटीहोमका मूल संकल्पकर्ता मानव सेवा फाउन्डेशनका संरक्षक बिजयकृष्ण मुर्तिजी महाराजको बिगत हेरेर वर्तमानलाई औंला ठड्याई रहेका छन्।
उहाँले बिगतमा के गर्नुभयाे, त्यस बापतको सजायं पनि पाउनुभयाे होलान नै, बिगतमा गल्ति गरेको भए उहाँ सजायंको भागी पक्कै हुनु पर्छ। यदि उहाँले गल्ति गरेको भए धर्मावलम्बी र श्रद्धालुहरुले मान्ने गरेको भगवानले उहाँलाई पक्कै पनि दण्डित गर्नुहुनेछ।
त्यहि बिषयलाई लिएर समग्र पोखराको आर्थिक, धार्मिक , विकास लगायतका पक्षहरुमा महत्वपूर्ण भूमिका खेल्ने कोटीहोमलाई असहयोग गर्नु पोखरा महानगरको महामूर्खता त हो नै, दोषी चश्मायुक्त हेराइको कमजोरी हो।
के पोखरा महानगर मौन बस्दैमा आर्थिक अपचलन रोकिन्छ त ?
कोटीहोमका नाममा हुनसक्ने बदमासीहरु रोकिनेछन त ? पोखरामा जारी ऐतिहासिक कोटीहोम असफल पार्ने नाममा पोखरा महानगरपालिकाले आफुले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ सफल होला त ?
पोखरामा भैरहेको कोटीहोम सफल पार्नु पोखरा महानगरपालिकाको दायित्व हैन र ?
आयोजक पक्षसंग सहकार्य र समन्वय गरेर कोटीहोम सफल भयो भने के पोखरा महानगरको इज्जत जान्छ होला र ? कि कोटीहोम विफल भयो भने पोखरा महानगरपालिकाले अन्तरराष्ट्रिय पुरस्कार पाउँछ ?
स्थानीय स्तरमा हुने हरेक राम्रा – नराम्रा गतिविधिहरु नियन्त्रण गर्न जति स्थानीय प्रशासनको महत्वपूर्ण भूमिका हुन्छ, त्यति नै स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ।
कोटीहोमका नाममा हुने आर्थिक अपचलन र बदमाशी रोक्न पोखरा महानगरको दायित्व हैन र ?
आफ्नो दायित्व पन्छाएर पोखरा महानगरपालिका भाग्न मिल्छ र ? बरु महानगरले कोटीहोमका आयोजक पक्षसंग सहकार्य गरेर छुट्टै समिति वा संयन्त्र बनाएर आर्थिक अपचलन वा बदमाशी रोक्नुपर्ने हैन र ?
पोखरा महानगर मौन बस्दैमा कोटीहोमका नाममा आर्थिक अपचलन र बदमाशी रोकिन्छ र ? खै जिम्मेवार बनेको पोखरा महानगर ?
त्यसो त कोटीहोम आयोजक मानव सेवा फाउन्डेशनले कोटीहोमका क्रममा सोचे जति रकम जम्मा भए पनि र नभए पनि कोटीहोम सफल बनाएरै छाड्ने भनेको छ।
उसले कोटीहोमबाट संकलित रकम मध्येबाट केही रकम फेवाताल संरक्षणलगायतका क्षेत्रहरुमा लगानी गर्ने घोषणा गरेको छ।
त्यो लगानी पनि पोखरा महानगरले निषेध गर्ने हो त ?
के त्यो बुद्धिमतापूर्ण होला त ? अद्यापि कोटीहोम आयोजक मानव सेवा फाउन्डेशनले आफ्नो प्रतिबद्धता पुरा गर्छ कि गर्दैन ?
त्यो हेर्न बाँकी छ र त्यो प्रतिबद्धाता पूरा गराउन महानगरको महत्वपूर्ण भूमिका हुँदैन र ?
पोखरा महानगरले कोटीहोमलाई असहयोग गरेको भनौं वा मौन बसेको भनौ , आजसम्म जे भयो भयो, अझै केही बिग्रिएको छैन।
अझै गल्ति सुधार गर्न सकिन्छ। महानगरले हात अघि बढाउने हो वा अन्य मध्यस्थ गर्ने मानव अधिकारवादी वा सामाजिक अभियन्ताको पहलमा पोखरा महानगर र कोटीहोम आयोजक पक्ष बीच वार्ता गरौँ।
अहिले कोटीहोमका क्रममा बनेका भौतिक संरचना पोखरा महानगरको स्वामित्वमा आउने गरी सहमति गरौँ।
पोखरा महानगरले लगानी गर्नु पर्ने करोडौं रुपियाँ बचत हुन्छ। त्यहाँ धार्मिक गतिबिधि चलाऔँ, महानगरको नियमित आम्दानीको श्रोत हुन्छ र धार्मिक पर्यटनले फड्को मार्नेछ।
त्यसले पोखराको आर्थिक , धार्मिक र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने छ। यो गर्न तर्फ पोखरा महानगर किन पछि हट्ने ? सोचौं, महानगर नेतृत्वले ठण्डा दिमागले सोचौं र पोखराको बिकासका लागि महत्वपूर्ण भूमिका खेल्नमा सहायक हुने कोटीहोमलाई सहयोग गरौं।
नत्र निहित स्वार्थका लागि केहि व्यक्तिको प्रतिष्ठाको बिषय बनेर कोटीहोमलाइ असहयोग नगरौं।
के पोखरा महानगर सबै धर्मप्रति आस्था राख्ने धर्मावलम्बीहरुको अभिभाबक हैन ?
सराङकोट, पुम्दीभुम्दी लागयतका स्थानहरुमा हुने महायज्ञको आयोजक हुने र लाखौँ रुपियाँ लगानी गर्ने पोखरा महानगर पोखरा १७ बिरौटामा जारी कोटीहोममा मौन बसेर असहयोग गर्न मिल्छ ?
के अभिभाबकको भूमिका यही हो ? कि कोटीहोमबाट कमिशन खोजिएको हो भने आजबाट एउटा छुट्टै बाकस राखौं र “कमिशनखोरहरुलाई कमिशन दिन संकलित दान” भनेर चन्दा संकलन गरौँ।
बिजयकृष्ण मुर्ति नेतृत्वको मानव सेवा फाउन्डेशनलाई कुनै सहयोग नगर्ने पोखरा महानगरको नेतृत्व मेयर धनराज आचार्यका नजिकका नातेदार कमल नयन गौतमले संचालन गरेको मानव सेवा आश्रमलाई किन करोडौं रुपियाँ लगानी गरिरहेको छ ?
पोखराको बाच्छेबुडुवामा संचालित गौशाला संचालनका नाममा मानव सेवा आश्रमलाई करोडौं रुपियाँ लगानी गरिएकै छ त। त्यहि आश्रमलाई बिना प्रतिष्पर्धा सेती नदीको किनारमा आर्थिक गतिबिधि चलाउन पाउने गरी भौतिक संरचना बनाउन दिइएको छ। के त्यी जायज हो त ?
एकातिर आफ्नै लगानीमा आर्थिक, सामाजिक , धार्मिक , पर्यटन र बिकासको कार्य गर्छु भनेर मानव सेवा फाउन्डेशनले शुरु गरेको कोटीहोमलाई असहयोग गर्ने अर्कातिर आफ्ना नातेदारका लागि जनताले तिरेको करोडौ रुपियाँ मानव सेवा आश्रमका लागि लगानी गर्नु जायज हो त ?
त्यसो त मानव सेवा आश्रमले गरेका सबै काम गलत भन्न खोजिएको भने हैन है। उसले गौशाला संचालन , असहाय तथा टुहुरा बालबालिकाको संरक्षण गरेकोमा त सम्मान गर्न पर्छ र कसैलाई विभेद नगरी सहयोग गर्ने पर्छ।
पोखरा महानागेर सबै जनताको अभिभावक बन्नुपर्छ र अभिभाबक बन्न सक्नु पनि पर्छ।
मेयरसाप हिम्मत गर्नुस। मनमा कहीं कतै थोरै भए पनि कालो र धुलोमैलो छ भने धोईपखाली गर्नुस र समग्र पोखराको बिकासमा दिर्घकालिन महत्व राख्ने कोटीहोमलाई सहयोग गर्नुस।
देश जनताका लागि तपाईं आफैं पहल गर्नुस अनि आफ्ना प्रस्ताबहरु अघि सार्नुस। कोटीहोम आयोजक पक्षलाई पोखरेली जनताप्रति उत्तरदायी हुने खालका योजनाहरु कार्यान्बयन गर्न दबाब दिनुस।
कोटीहोम असहयोगीको नाममा जिन्दगीभर तपाईको निधारमा लाग्ने कालो टीका मेटाउनुस र सुन्दर इतिहास रच्नुस।
यदि कोटीहोमका नाममा अहिले पनि गलत क्रियाकलाप भए गरेका छन भने हस्तक्षेप गरेर सुधार्नुस, कसरी कोटीहोम सफल पार्न सकिन्छ? सक्रिय सहभागिता जनाउनुस र कोटीहोमका नाममा बनेको भौतिक संरचना समग्र पोखराको दिगो पर्यटनका लागि उपयोग गर्न सकिने वातावरण बनाउनुस।
तपाईं र पोखरा महानगरले सहयोग नगरे पनि पोखरामा कोटीहोम त सम्पन्न हुने नै भयो।
कोटीहोमका नाममा हुने राम्रा – नराम्रा परिणामहरुको जिम्मेदारी त तपाइले पनि लिनुपर्ला नि ? महानगरभित्र सम्पन्न हुने कोटीहोम बारे मलाई जानकारी नै भएन भनेर तपाईं पक्कै पनि पन्छिन पाउनु हुन्न क्यारे।
पोखरा महानगरले असहयोग गरे पनि पोखरेली जनताले कोटीहोमलाई स्वीकार गरिसकेका छन्, स्वीकार गर्न बाँकी पोखरा महानगरको नेतृत्वले मात्र हो।
पोखरा महानगरको नेतृत्व मेयर धनराज आचार्यको आफन्त कमल नयन गौतमले संचालन गरेको मानव सेवा आश्रमलाई सहयोग गर्ने बारे बिस्तृत छलफल गरिरहेका बेला पोखरेली जनताले मानव सेवा फाउन्डेशनले संचालन गरेको कोटीहोमलाई अबिश्मरनीय बनाउन कोटीहोमस्थल जाने चोकलाई नै कोटीहोम चोक नामाकारण गरिदिएका छन्।
अहिले कोटीहोम भैरहेको स्थानलाई अब उप्रान्त नेपाली जनताले कोटीहोम चोक भनेर चिन्नेछन।
अब समग्र पोखराको विकास र उन्नतिका पक्षमा कोटीहोमलाई उपयोग गरौ , सक्रिय सहभागी बनौं, सक्दो सहयोग गरौँ, सहयोग गर्न नसके उपस्थित भएर सहभागिता जनाउं, ऐतिहासिक कोटीहोमप्रति सबैले गर्ब गरेर सफल पारौं। सबै जनाको भलो होस् , कोहि कसैबाट प्रताडित बन्न नपरोस, सबैको जय होस्।






