पोखरा । अठारौँ गणतन्त्र दिवसको अवसरमा पोखरामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाको व्यवस्थापमा गणतन्त्र दिवस मूल समारोह समिति गण्डकी प्रदेशले कार्यक्रम आयोजना गरेको हो ।
पोखरा–१७ स्थित ड्यामसाइड पार्क क्षेत्र आसपासमा सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकायका साथै प्रतिनिधि र सर्वसाधारण सहभागी भएर सरसफाई गरिएको हो ।
कार्यक्रममा पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबाबु ओलिया, वडा जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा मेयर आचार्यले भने “हाम्रो अभियान, सफा सुन्दर पोखरा” भन्ने नारासहित सञ्चालन भएको अभियानले पोखरालाई पर्यटकीय, सांस्कृतिक र वातावरणीय दृष्टिले अझ आकर्षक र स्वच्छ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।






