पोखरा । पर्सामा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्सा छिपहरमाई गाउँपालिका वडा नं ३ झलमैयाका रामाकान्त यादव र विजय यादव छन् ।
गम्भीर घाइते हुनेमा २२ वर्षीय विजय कुमार यादव रहेको प्रहरीले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार वीरगन्ज महानगरपालिका वडा नं. २२ ड्राईपोर्ट सडकखण्डअन्तर्गत सीताराम चोकमा बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनापश्चात् ट्रक चालक फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






