पोखरा। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गर्नुभएको छ ।
बिहीवार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाउनु भयो ।
अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ । लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने । यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु । त्यसकारण हामी व्यवहारिक हुनुप¥यो ।’






