जनकवि केशरी धर्मराज थापाको १सय १ औं जन्म जयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रमका विच स्मरण गरिएको छ।
शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागीले राष्ट्रले चिनेको लोक सर्जकलाई अहिलेसम्म पनि आफ्नै क्षेत्रले उपयुक्त सम्मान दिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। जनकवि थापाको व्यक्तित्व र कृतित्वको बारेमा परिचर्चा गर्दै अधिकांश व्यक्तिले बाटुलेचौरको माटोमा जन्मिएर हुर्किएका जनकविलाई स्मरण गरेर मात्र नपुग्ने बताउँदै, उनको शालिक निर्माणमा जोड दिएका छन्।
पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जनकवि केशरी धर्मराज थापा लगायतका यस क्षेत्रका साहित्यक व्यक्तित्वको उचित सम्मान र योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानले कार्ययोजना सहित अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनकवि केशरी थापाको शालिक निर्माणका लागि महेन्द्र गुफा परिसर उपयुक्त हुने र त्यसको स्थलगत निरीक्षण गरिएको बताउँदै, यसका विषयमा पोखरा महानगरपालिका पनि सकारात्मक रहेको स्पष्ट पार्नुभयो। “त्यसका लागि जनकवि केशरीका परिवार पनि तयार रहेको, वडाले पनि केही बजेट विनियोजन गरेको र प्रतिष्ठानले अगुवाइ गरेमा सार्थकता पाउँछ” वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो। साहित्य विकासको लागि पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जनकवि केशरी धर्मराज थापा कुनै क्षेत्र विशेषको नभएर राष्ट्रिय गौरवको लोक साधक भएको स्मरण गर्दै, उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्न स्थानीय सरकारले पनि भुमिका खेल्नुपर्ने बताउनुभयो।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बाटुलेचौर साहित्य र लोकसंगीतको उर्वर भूमि भएको बताउँदै, श्रष्ट्राको सम्मानले नै समाज सम्मानित हुने बताउनुभयो। उहाँले जनकवि केशरी धर्मराज थापाले गन्धर्व समुदाय र सारङ्गीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पनि महत्वपुर्ण भुमिका रहेको भन्दै स्मरण गर्नुभयो। साहित्यकार एवं पत्रकार असफल गौतमले जनकवि केशरीको जीवनी प्रस्तुत गर्दै, लोक साहित्य र संगीतको मेरूदण्डका रूपमा चित्रित गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कवि एवं सल्लाहकार शिव त्रिपाठी, प्रतिविम्ब वाङ्मय प्रतिष्ठानका अध्यक्ष शिवहरि आचार्य, शिक्षासेवी यमनकाजी गुरुङ, पुर्व जनप्रतिनिधि कोमलप्रसाद बास्तोला, विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, कार्यक्रम संयोजक हरि बहादुर थापा लगायतले कविको जन्म घरलाई कविकुञ्जको रूपमा विकास गरी त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष नेत्र बहादुर बानियाँ, पुर्व सदस्य डोब बहादुर केसी लगायतले जनकवि केशरी धर्मराज थापाका कालजयी लोक गीत प्रस्तुत गरेका थिए। प्रतिष्ठानका सचिव रामप्रसाद पाैडेलले संचालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गिता भण्डारीले स्वागत गर्नुभएको थियो। त्यस अघि सहभागीले जनकवि केशरीको तस्वीरमा माल्यार्पण गरी कविको स्मरण गरेका थिए।






