पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्तिले विगतदेखि गर्दै आएको आह्वानलाई जेनजी विद्रोहले साकार गरेको तर्क गरेका छन् ।
बुधबार राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले नयाँ शक्तिले विगतदेखि नै राजनीति स्थायित्व, सुशासन र समृद्धिको पक्षमा आह्वान गर्दै आएको बताए । भट्टराईले जेनजी विद्रोहसँगै अब सिङ्गो देशलाई विश्वासमा लिएर नयाँ वैकल्पिक शक्ति निर्माणको पहलकदमी दिनुपर्ने बताएका पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
‘राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था र सुशासनका लागि शक्तिशाली एउटा जनलोकपाल र सुशासन कायम गरेर देशलाई समृद्धिको दिशामा लैजाने उद्घोष नयाँ शक्तिले २०७२ सालमा गरेको थियो । २०८२ सालमा आएर जेनजी पुस्ताले हाम्रो आह्वानलाई साकार बनाउने काम गरे,’ भट्टराईले भने, ‘त्यही भएर हामी अगुवा हौँ, अगुवा व्यक्ति भएको हुनाले एउटा नयाँ पहलकदमी लिएर समाधान दिनुपर्छ, यसलाई क्रान्तिमा रूपान्तरण गर्नुपर्छ, प्रतिक्रान्तितिर जान हुन्न ।’
जेनजीको विद्रोह पुराना पार्टीका भ्रष्ट नेतृत्वविरुद्ध भएकाले विद्रोहपछि सबै पार्टी पुनर्गठनको दबाबमा परेका पनि भट्टराईले विश्लेषण गरेका थिए । पार्टीलाई एउटा तहमा पुर्याउर जिम्मेवारी हस्तान्तरण गर्नेसमेत भट्टराईले बताएका शर्माले जानकारी दिए ।भट्टराईले बैठकमा के भने ?
समाजशास्त्रमा कहिलेकाहीँ परिवर्तन आउँदा ठुलो भूकम्पजस्तो प्रभाव पर्छ। जेनजी विद्रोह एउटा समाजका विविध अन्तर्विरोधहरूको विष्फोट हो। तत्कालका लागि यो विद्रोह एउटा बिन्दुमा आएर अड्किएको छ । तत्कालका लागि युद्धविरामजस्तो भएको छ । तर खासमा यसले गन्तव्य भेट्टाएको छैन । क्रान्तिकारी शक्तिहरू भनौँ अथवा वैकल्पिक राजनीतिक शक्तिले यसलाई अग्रगामी रूपमा रूपान्तरण, सुशासन र राजनीतिक स्थायित्वतर्फ लैजान खोजेको हो, जेनजी विद्रोहले त्यो वैकल्पिक र राजनीतिक मार्ग प्रशस्त गर्ने ठाउँमा पुर्याइदिएको छ । यसलाई हामीले अगाडि बढाउनुपर्छ ।
क्रान्तिको नियम निरन्तर अघि बढ्ने हुनुपर्छ । यदि बढेन र मध्यबिन्दुमा नै ठहरियो वा अडियो भने फेरि पछाडि फर्किन्छ, मध्यबिन्दुमा रहन सक्दैन । र यसलाई कतिपय पश्चगामी शक्तिहरूले पछाडि धकेल्न खोज्छन् ।
हामी वैकल्पिक राजनीतिक शक्तिको मुख्य पहलकर्ता भएको नाताले, हामीले यो जेनजी विद्रोहलाई अग्रगामी रूपान्तरणतर्फ लैजानु आवश्यक छ । समग्र देश, तीन करोड नेपाली जनतालाई साथमा लिएर यसलाई पूर्णता दिनुपर्छ । हिजो सात वर्षमा समाज परिवर्तनको एउटा चरणको एउटा खुड्किलो पार गरियो । २०४६ सालमा अर्को खुड्किलो, २०६२/६३ सालमा फेरि दस वर्षको जनयुद्धसहितको नयाँ खुड्किलो र अहिलेको जेनजी विद्रोह पनि समाज परिवर्तनका लागि एउटा खुड्किलो हो ।
हामीले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था र सुशासनका लागि शक्तिशाली जनलोकपाल, नागरिक नियन्त्रणमार्फत देशमा सुशासन कायम गरी समृद्धितर्फ लैजाने जुन नयाँ शक्तिको उद्घोष २०७२ सालमा गरेका थियौँ, अहिले २०७९/८२ सालका जेनजी पुस्ताले हाम्रो आह्वानलाई नै साकार बनाउने काम गरेका छन् । त्यसैले हामी अगुवा हौँ । अगुवा व्यक्ति भएका कारण एउटा नयाँ पहल लिएर समाधान दिनुपर्छ; यसलाई क्रान्तिमा रूपान्तरण गर्नुपर्छ । प्रतिक्रान्तितर्फ जान हुँदैन ।
जेनजी विद्रोहले राजनीतिक दलको नेतृत्वविरुद्ध आवाज उठाएको छ । हिजो हामीले राजाविरुद्ध संघर्ष गर्यौँ, पञ्चायतविरुद्ध संघर्ष गर्यौँ, राणाविरुद्ध संघर्ष गर्यौँ । अहिले जेनजी विद्रोह पुराना दलका भ्रष्ट नेताहरू र पदस्थापनमा पुस्तान्तरण नहुने, एउटै व्यक्ति आजीवन नेतृत्वमा बसेर राज्य दोहन गर्ने संरचनाविरुद्ध भएको छ । त्यसैले राजनीतिक दलको लोकतान्त्रीकरण र रूपान्तरणका लागि नयाँ शक्तिलाई पुनर्गठन गरेर अगाडि बढ्नुपर्छ । नयाँ वैकल्पिक शक्तिको पहल हामीले नै गर्नुपर्छ, हामीले बाटो देखाउनुपर्छ ।
तर, नयाँ शक्ति मात्रले यो विद्रोहलाई क्रान्तितर्फ रूपान्तरण गर्न पर्याप्त छैन । नयाँ शक्ति सहितका अन्य वैकल्पिक राजनीतिक शक्ति र विभिन्न परिवर्तनका पक्षधरहरूलाई पनि साथमा लिएर अघि बढ्न आवश्यक छ । सिंगो मुलुकलाई अग्रगामी दिशामा लगेर नेतृत्व गर्दै बृहत् रूपमा ध्रुवीकरण र मोर्चा बनाउने पहल गर्न आवश्यक छ ।






