अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा दसैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ ।
भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य वि.सं. २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरिए पनि हालसम्म सडक विस्तार कार्य सम्पन्न हुन सकेको छैन ।
सडक विस्तारका लागि ७।५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८।४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ। यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ।






