राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्ने माग गर्नुभएको छ । बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले अमेरिकासहितका अन्य देशहरुमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताउनु भयो । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानूनी प्रावधान जरुरी रहेको बताउनु भयो । नेपाली युवाहरु विश्वभर छरिएका र उनीहरुले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिनसक्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।






