नेकपा (एमाले) ले आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची पारित गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टीका उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नामावली पेश गर्नुभएको थियो । बैठकले अध्यक्षद्वारा प्रस्तुत नामावली अनुमोदन गर्दै सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । बैठकमा अध्यक्ष ओलीले संसद पुनःस्थापनाको विषयमा समेत जोड दिनुभएको थियो । एमाले निर्वाचनबाट नभाग्ने तर निर्वाचनका लागि उपयुक्त वातावरण बनिनसकेको कुरा अध्यक्षले बैठकमा राख्नुभएको उपमहासचिव भट्टले बताउनुभयो ।






