दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) जस्ता जोखिममा रहेको एक अध्ययनले देखाएको छ । स्वीजरल्याण्डको युनिभर्सिटी अफ लुजान(युएनआईएल) ले दुधकोशी जलाधारका माथिल्लो र तल्लो तटिय क्षेत्रका विद्यालयमा गरेको अध्ययनमा पृथ्वीको तापक्रमवृद्धिका कारण जलवायुमा परिवर्तन हुँदा हिमताल विस्फोटजन्य बाढीको र अतिवृष्टिको कारण उत्पन्न्न हुने बाढी तथा पहिरोको जोखिममा रहेको देखिएको हो । विद्यार्थी र शिक्षकको जलवायु परिर्वतन र हिमनदी विस्फोटन सम्बन्धी ज्ञान र बुझाइको स्तर, विद्यालय भएको स्थान, नदी तथा हिमतालदेखिको दुरी, खोला तथा नदीदेखि विद्यालयसम्मको दुरी, विपद् जोखिम बुझाई सम्बन्धी प्रशिक्षण पुस्तिका र विपद्को सम्भावति आँकलन गरी गरिने कृत्रिम अभ्यास लगायत मापदण्डका आधारमा विद्यालयको जोखिम मूल्यांकन गरिएको हो । विद्यालयको भौतिक संरचनाको अवस्थिति, पाठ्यक्रम र विद्यार्थीको बुझाई सिकाई र ज्ञान सम्बन्धी विभिन्न १ सय ४२ प्रश्न गरिएको थियो ।






