काठमाडौं महानगरपालिका–१० मा अवस्थित ह्याप्पी एजुकेशनल कन्सल्टेन्सी का सञ्चालकले अध्ययन तथा कामदार भिसाको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कन्सल्टेन्सीका सञ्चालक जिल्ला चितवन, राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल ले अध्ययन भिसामा विदेश पठाइदिने प्रलोभन देखाई दुई जना विद्यार्थीबाट आफ्नै कन्सल्टेन्सीको खातामा जम्मा रु. २१ लाख ७० हजार रुपैयाँ जम्मा गराएका थिए । पोर्चुगल पठाउने प्रक्रिया गरिरहेको भनी झुक्याएर कन्सल्टेन्सी बन्द गरी फरार भएपछि आफूहरू ठगीमा परेको भन्दै पीडितले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मिति २०८२।१०।२० गते सिलवाललाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा सिलवालले आफ्नो परिचय केदारप्रसाद सिलवाल भनेर अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाइदिने भन्दै रु. १२ लाख को चेक काट्न लगाई भुक्तानी लिएको र सोही नामको बैंक खातामा थप रु. ४० हजार रुपैयाँसमेत जम्मा गराई कुल रु. १२ लाख ४० हजार रुपैयाँ ठगी गरेको जाहेरीसमेत प्राप्त भएको छ ।
यसैगरी, सिलवालले जिल्ला चितवन, भरतपुर उपमहानगरपालिका–१० मा ह्याप्पी एजुकेशनल कन्सल्टेन्सी सञ्चालन गरी चार जनालाई सर्बिया कामदार भिसामा पठाइदिने भन्दै रु. २१ लाख ९० हजार ५०० रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी पनि प्रहरीसमक्ष परेको छ ।
त्यस्तै, स्पेन पठाइदिने भन्दै अन्य तीन जनाबाट समेत रु. १२ लाख रुपैयाँ लिई ठगी गरेको भन्दै पीडितहरू प्रहरी सम्पर्कमा आएका छन् ।
हाल प्रहरीले बद्री सिलवालमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।






