पोखरा ।न्यु ग्यालेक्सी इङ्लिस सेकेन्डरी स्कुलमा यस वर्षको एसईई स्पोर्ट्स कम्पिटिसन २०८३ आगामी बैशाख २५ गतेदेखि सुरु हुने भएको छ। विद्यालयले विद्यार्थीहरूको खेलकुद प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित फुटसल, ८औँ एसईई बास्केटबल प्रतियोगिता (केटा/केटी) तथा ५औँ ग्रान्ड अनलाइन क्विज प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता बैशाख २५ गते बिहान ८:३० बजेदेखि सुरु हुने विद्यालयले जनाएको छ।
आयोजकका अनुसार फुटसल प्रतियोगितामा ६० टिम सहभागी हुनेछन् भने बास्केटबलतर्फ केटा समूहमा २५ टिम र केटी समूहमा ६ टिम सहभागी हुनेछन्। प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न स्थानबाट खेलाडीहरू पोखरा आउने बताइएको छ। विद्यालय व्यवस्थापन समितिले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने चयनित खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था समेत गरिएको जानकारी दिएको छ।
प्रतियोगिताअन्तर्गत फुटसलतर्फ प्रथम हुने टिमलाई १५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही १५ सय रुपैयाँ प्रदान गरिनेछ। यस्तै ५औँ ग्रान्ड अनलाइन क्विज प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई ८ हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ।
८औँ एसईई बास्केटबल प्रतियोगितातर्फ केटा समूहमा विजेताले २० हजार रुपैयाँ तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उक्त समूहको प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ। यस्तै केटी समूहमा विजेताले १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
विद्यालयले प्रतियोगिताको समापन कार्यक्रम बैशाख २७ गते विद्यालय परिसरमै आयोजना गरिने जनाएको छ। समापन समारोहमा दर्ता भएका सहभागी तथा टिमहरूलाई लक्की ड्रमार्फत गिफ्ट ह्याम्पर प्रदान गरिने पनि विद्यालयले जानकारी दिएको छ। विद्यालयले यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह बढाउने तथा नयाँ प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






