असार ३, पोखरा
पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट सङ्घ र प्रदेश क्रिकेट सङ्घ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ तथा अम्पायरिङसम्बन्धी दुईदिने सी लेभल तालिम सम्पन्न भएको छ।
तालिममा सञ्चकान्त सिग्देल र भोज बरालले अम्पायरिङसम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङसम्बन्धी तथा आशिष बरालले स्कोरिङसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए। तालिममा कास्की, पर्वत, स्याङ्जा र तनहुँबाट विभिन्न विद्यालयका सम्बन्धित शिक्षक, पूर्व खेलाडी तथा क्रिकेटप्रेमी गरी ३६ जनाको सहभागिता रहेको थियो। तालिमका सहभागीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्का प्रतिनिधि बसन्त पराजुली, सञ्चय आत्रेय लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
कास्कीसँगै गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा क्रिकेट गतिविधि बढ्दै जाँदा प्राविधिक जनशक्तिको अभावका कारण प्रतियोगिता आयोजनामा समस्या देखिएकाले उक्त तालिम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बबिन कुँवरले जानकारी दिए।
यस तालिमले पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आगामी शनिबारदेखि पोखरामा सञ्चालन हुन लागेको अन्तरविद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष कुँवरले बताए।





