पोखरा। गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरूले बाढीपहिरो, सडक दुर्घटना, समावेशीकरण र सुशासनलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रदेश सभा सदस्य कल्पना तिवारीले स्याङ्जाको वालिङ नगर अस्पताललाई २५ शय्यामा स्तरोन्नति गर्ने निर्णयको कार्यान्वयनबारे सरकारसँग जानकारी मागिन्। निर्णय भए पनि यसको प्रगति कहाँ पुगेको छ, सरकारको जवाफ चाहन्छु, उनले भनिन्।
त्यस्तै, कुसुम बुढा पुनले बागलुङमा गाँजा र भाङको विषयमा किसान त्रसित बनेको बताइन्। गाँजा विधेयक अन्तिम चरणमा रहेका बेला ताराखोला लगायतका क्षेत्रमा प्रहरीले भाङ फँडानी गरेको भन्दै उनले गाँजा र भाङ फरक वनस्पति भएकाले छुट्याएर मात्र कारबाही गर्नुपर्नेमा जोड दिइन्।
प्रदेश सभा सदस्य जितप्रकाश आले मगरले क्रसर उद्योगहरूले मापदण्ड पालना नगर्दा वातावरणमा गम्भीर असर परेको बताए। सेटिङको आधारमा उद्योग सञ्चालन भइरहेको र प्रदेशले अपेक्षित राजस्वसमेत प्राप्त गर्न नसकेको उनको भनाइ थियो। क्रसरबाट निस्कने धमिलो पानीले नदीको जलचर र पारिस्थितिक प्रणालीमा असर पुर्याएको उल्लेख गर्दै उनले पानी फिल्टर गरेर मात्र नदीमा मिसाउने व्यवस्था गर्न सरकारसँग माग गरे।
त्यस्तै, दमयन्ती रुचालले राज्यका निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व अझै कमजोर रहेको बताइन्। संविधानले व्यवस्था गरे पनि निजामती सेवाको सचिव पदमा महिला ८ प्रतिशत, न्यायपालिकामा ११.५ प्रतिशत, नेपाल प्रहरीमा ११.५ प्रतिशत र नेपाली सेनामा ६.८ प्रतिशत मात्र महिला सहभागिता रहेको उनले जानकारी दिइन्। निजामती सेवामा दलितको सहभागिता २.२२ प्रतिशत र न्यायपालिकामा १.८ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उनले सबै निकायमा संविधानको मर्मअनुसार वास्तविक समावेशिता सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।
प्रदेश सभा सदस्य देवका पहारी त्रिपाठीले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा पहिरोबाट भएको क्षतिको विषय उठाइन्। असार २३ गते राति बन्ठाँटीमा गएको पहिरोले होटल सनराइज, होटल शंकर, गुरुङ लज तथा नजिकैको पुलमा क्षति पुर्याउँदा करिब २ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको उनले बताइन्। पर्यटकीय पदमार्ग अवरुद्ध भएकाले पीडितलाई राहत र पदमार्गको तत्काल मर्मत गर्न उनले सरकारसँग माग गरिन्। सोही विषयमा प्रकाश बरालले पनि पर्यटन सिजनअघि नै मर्मत कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, नन्दकला दमाइ नेपालीले पोखराको पृथ्वीचोक–लेखनाथ सडकखण्डमा अधुरो निर्माण र जेब्रा क्रसिङको अभावका कारण दुर्घटना बढिरहेको बताइन्। सडक सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित निकायलाई उनले आग्रह गरिन्।
विन्दु पौडेलले नवलपुरमा बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै कावासोती बजारको साइनबोर्ड उपयुक्त स्थानमा सार्नुपर्ने जनताको माग रहेको बताइन्।
यस्तै, श्यामराजा महतले कोत्रेखोलादेखि दमौलीसम्मको सडकखण्डमा भइरहेका दुर्घटना न्यूनीकरणका लागि प्रदेश, संघ र स्थानीय तहबीच समन्वय गरी आकाशे पुल, अन्डरपास निर्माण तथा ट्राफिक सचेतना अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए।





