विराटनगर , असार २८ नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर ३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाह का अनुसार बढ्दो विद्युत् भारका कारण विराटनगर ३ फिडरबाट विद्युत् आपूर्तिमा समस्या देखिन थालेपछि टंकी सबस्टेशनमा रहेका दुईवटा २४ एमभीए क्षमताका पावर ट्रान्सफर्मरको सञ्चालन प्रणाली परिवर्तन गरिएकोे उहाँले बताउनुभयो । उहाँका अनुसार पावर ट्रान्सफर्मर नं. १ लाई ३३ केभी विराटनगर २ फिडरबाट र पावर ट्रान्सफर्मर नं. २ लाई ३३ केभी विराटनगर ३ फिडरबाट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
अहिले लोड व्यवस्थापनपछि विराटनगर ३ फिडरमा रहेको ओभरलोडको समस्या हटेको, दुवै पावर ट्रान्सफर्मरमा विद्युत् भार सन्तुलित रूपमा बाँडिएको र विद्युत् प्रणाली सुरक्षित तथा भरपर्दो बनेको उहाँले दाबी गर्नुभयो ।
उहाँको अनुसार हाल सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु छ । यस व्यवस्थापनले विद्युत् प्रणालीको स्थायित्व बढाउनुका साथै उपभोक्तालाई थप भरपर्दो सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास उहाँले गर्नुभयो ।






