पोखरा । ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित पोखरामा मंसिर १ देखि राष्ट्रिय कर सप्ताह सुरु भएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले सप्ताहभर विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
कार्यालयले करदातालाई करसम्बन्धी जानकारी दिने, कर सहभागिता बढाउने र कर प्रशासन तथा व्यवसायीबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम तय गरेको जनाएको छ ।
कार्यक्रमको सुरुवात मंसिर १ गते प्रभातफेरीबाट भएको छ । बिहान ७ बजे पोखरा सभागृहबाट सुरु हुने प्रभातफेरी रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालयसम्म पुगेर समापन भएको छ । प्रभातफेरीमा उद्योग वाणिज्य संघसहित विभिन्न संघ संस्थाको सहभागिता थियो ।
मंसिर २ देखि ६ गतेसम्म विभिन्न वस्तुगत संघसंस्थासँग अन्तरक्रिया तथा कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले बताए । त्यस्तै, मंसिर ५ र ६ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ । पोखरा छोरेपाटनस्थित डेभिसफल फुटसल सेन्टरमा प्रतियोगिता आयोजना गरिनेछ ।
सप्ताहको अन्तिम दिन मंसिर ७ गते करदाता सम्मानसहित कर सप्ताह कार्यक्रम आयोजना हुनेछ । आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा हुने कार्यक्रममा करदातालाई सम्मान गरिने ढुंगानाले बताए । उनले कर न्याय, सुशासन र समृद्धिमा नागरिक सहभागिताको महत्वबारे जनचेतना अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरेका छन् ।






